वैशाख ३ - दक्षिण कोरियाको दोसुनसा मन्दिरबाट बौद्ध गुरु हेजेनको नेतृत्वमा सोमबार अपराह्न ८० जना बौद्ध भिक्षु नेपाल आएका छन् ।
लुम्बिनीबाट अखण्ड शान्ति दीप लिनका लागि उनीहरू सोमबार नेपाल आइपुगेका हुन् । ती भिक्षुगण नेपाल दक्षिण कोरिया लुम्बिनी शान्ति दीप यात्रामा सहभागी हुने कार्यक्रम छ । सोमबारदेखि यही वैशाख २० गतेसम्म नेपाल तथा कोरिया दुवै देशमा सञ्चालन हुने सो कार्यक्रमअन्तर्गत पाहुनाले नेपालका विभिन्न स्थानको भ्रमण गर्नेछन् ।
नेपाल दक्षिण कोरिया लुम्बिनी शान्ति दीप यात्रा नागरिक मूल समारोह समितिले सो यात्राको व्यवस्थापन गरेको छ । समितिका संयोजक कपिल लामाले भिक्षुगणलाई आज त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो । भिक्षुगण आजै साँझ पोखरा भ्रमणका लागि प्रस्थान गरेको छ । मङ्गलबार उनीहरू लुम्बिनीमा पुग्नेछन । बुधबार पाहुनाले स्थानीय गोटीहवा, निग्लहवा तथा कपिलवस्तुलगायत तीर्थस्थलको भ्रमण गर्नेछन् ।
त्यसैगरी बिहीबार लुम्बिनीमा विशेष समारोहबीच विभिन्न गुम्बाका गुरूपुरोहितको मङ्गल कामनाका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले कार्यक्रम आयोजक समितिलाई दीप हस्तान्तरण गर्ने कार्यक्रम छ । शुक्रबार राष्ट्रपतिबाट कोरियाली भिक्षुलाई दीप हस्तान्तरण गरिने छ । वैशाख ७ देखि १७ गतेसम्म तिब्बतका विभिन्न स्थान हुँदै सो दीपलाई कोरिया लगिने छ । वैशाख २० गते दोसुनसा मन्दिरमा दीप प्रतिस्थापन गरिने कार्यक्रम रहेको संयोजक लामाले बताए ।
कोरियामा बुद्ध जयन्तीका दिन लाल्टिन महोत्सव हुने र यस वर्ष लुम्बिनीबाट अखण्ड विश्व शान्तिदीप लगी एक दीपबाट अर्कामा प्रज्वलन गरी सो महोत्सव सुरु गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । रासस
Powered by Blogger.
कोरियाका ८० जना भिक्षु काठमाडौँमा
प्रकाशित मिति:
April 16, 2013