चैत २० - नेकपा माओवादीका केन्द्रीय संयोजक मातृका यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको सबैभन्दा ठूलो दलाल भएको आरोप लगाएका छन् ।
नेकपा एकीकृतको आज आजबाट पोखरामा शुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।
संयोजक यादवले अब हुने संविधानसभाले जनताको पक्षमा संविधान बनाउन नसक्ने दाबी गरे । उनले एमाओवादी अध्यक्ष प्रचण्डले सबैलाई उपयोग गरेको बताए ।
‘प्रतिक्रियावाद र सबै खाले अवसरवादलाई परास्त गरौं, नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं’ भन्ने नाराका साथ सम्मेलन शुरु भएको हो । आगामी शुक्रबारसम्म चल्ने सम्मेलनमा ५३ जिल्लाका तीन सय प्रतिनिधी सामेल छन् ।
नेकपा एकिकृत राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक कमल चौधरीले विकसित नयाँ परिस्थितिमा उचित नीति र नेतृत्व चयनका लागि सम्मेलनको आयोजना गरिएको बताए । उनले अहिले क्रान्तिकारी ध्रुबिकरण देखा परेको र एमाओवादीले सक्तासँग क्रान्तिका उपलब्धि साटेको आरोप लगाए ।
नेकपा–माओवादीका पोलिटव्युरो सदस्य ईन्द्रमोहन सिग्देलले देश लामो समयसम्म यथास्थितिमा रहन नसक्ने विचार राखे । उनले भने–‘अब कि देश सिक्किमीकरणतिर जान्छ या क्रान्तिकारीहरुले जेहाद छेड्छन् ।’ उनले अब हुने संविधानसभाले देशको समस्याको समाधान गर्न नसक्ने उल्लेख गरे ।
नेकपा एकिकृतका सल्लाहकार समितिका अध्यक्ष प्रा. डा. ओम गुरुङले भर्खरै पार्टी छाडेर गएका ऋषि कट्टेलहरुसँग पहिला पनि भावनात्मक एकता हुन नसकेको बताए । उनले एकताको लागि अन्तिसम्म पहल गरे पनि सफल हुन नसकेको बताए ।
एकिकृतका स्टेरिङ समिति सदस्य परी थापाले तीन दल र मधेशी मोर्चाले एक प्रकारले प्रतिगमन निम्त्याएको बताए । उनले भने–‘चार दलले गणतान्त्रिक प्रतिगमन गरे ।’
नेकपा एकिकृत राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक कमल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका उप–संयोजक केशबहादुर परियार र सञ्चालन सदस्य चिरन पुनले गरेका थिए ।
Powered by Blogger.
'प्रचण्ड सबैभन्दा ठूलो दलाल'
प्रकाशित मिति:
April 02, 2013