मुलुकमा प्रजातन्त्र स्थापनार्थ बलिदान दिएका सहिदको योगदान अहिलेका नेताहरूले नबुझेको आरोप लगाइएको छ ।
सहिद गङ्गालाल श्रेष्ठको ९४ औं जन्मजयन्ती तथा जनआन्दोलन दिवसका अवसरमा सहिद स्मारक समितिले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वक्ताहरूले सहिदको योगदानलाई नेताहरूले महत्व नदिएको गुनासो गरे ।
सहिद चिनियाँलाल सिंहकी छोरी उषा सिंहले जस्लाई मन लाग्यो त्यस्लाई सहिद घोषणा गरेर सहिदको परिभाषा नै बिर्सिएको बताउँदै दुईजनाबीच भएको झगडामा मारिनेलाई समेत सहिद घोषणा गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरे ।
समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले सहिदको सम्मान गर्नु भनेकै राष्ट्रको सम्मान गरेको भन्दै विदेशीले नेपाली सिमाना मिचिरहँदा पनि चुपो लागेर बस्ने सरकारले राष्ट्रको सम्मान गर्न नसकेको गुनासो गरे ।
कार्यक्रममा समाजसेवी जनकमान श्रेष्ठ, जनसरोकार सञ्जालका अध्यक्ष प्रा.डा. सुन्दरकृष्ण श्रेष्ठ, कवि हरिदास श्रेष्ठ, तण्डुकार समाजका अध्यक्ष मदन तण्डुकार, कलानिधी–इन्दिरा सङ्गीत विद्यालयका प्रधानाध्यापक धर्मबहादुर गोपालीलगायतका वक्ताले मुलुकमा शान्ति स्थापनार्थ संविधान बन्नैपर्ने र यसका लागि सम्पूर्ण राजनीतिक दलले व्यक्तिगत स्वार्थ त्यागेर आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।
मुलुकमा प्रजातन्त्रको स्थापनार्थ तत्कालिन राणाशासन विरोधी गतिविधि गरेको आरोपमा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीको हत्या गरिएको थियो । २४ चैत/रासस
Powered by Blogger.
'सहिदको योगदानलाई नेताले बुझेनन्'
प्रकाशित मिति:
April 06, 2013