वैशाख १३ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीको आन्दोलनकारी पङ्क्तिमा देखापरेका दुई धारमध्ये एउटा धारालाई पक्डेर अर्को धारालाई वहिष्कृत गरेर हुने संविधानसभाको निर्वाचनले सही परिणाण ल्याउन नसक्ने बताएका छन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस एवम् स्रष्टा सम्मान समारोहमा बोल्दै अध्यक्ष वैद्यले आन्दोलनमा अभिव्यक्त जनताको भावनाको सम्बोधन नगरी यथास्थितिमा चुनाव हुन नसक्ने बताए ।
उनले अहिलेकै अवस्थाबाट गुज्रेर हुने संविधानसभामार्फत जनताको पक्षमा संविधानको निर्माण हुने आशा र अपेक्षा गर्न नसकिने पनि बताए ।
“जनताको मनोविज्ञान, आन्दोलनमा अभिव्यक्त भावना तथा मजदुर, आदिवासी, महिला, मधेसी, अल्पसङ्ख्यक, किसानका भावना सम्बोधन नगरी पुरानै तरिकाले यथास्थितिवादमै आधारित रहेर नयाँ संविधान निर्माण गर्ने नाममा अनेक प्रकारका षड्यन्त्र भएकाले यसप्रति राजनीति र संस्कृतिकर्मीहरु सजग हुनु जरुरी छ”, अध्यक्ष वैद्यले भने ।
नेताहरु जुन जुन बेला संशोधनवादको भासमा फसेका हुन्छन् त्यो बेला सच्चा क्रान्तिकारी कार्यकर्ता, नेता र सांस्कृतिक योद्धाहरुले निरन्तर खबरदारी गर्दै क्रान्तिको झन्डा उठाउँदै आएको उनले बताए । उनले कृष्णसेन इच्छुकका विचार तथा रचनाहरु सधैँ र सबैका लागि प्रेरणादायी रहेको पनि बताए ।
कार्यक्रममा प्रतिष्ठानले बर्षेनि प्रदान गर्ने रु २५ हजार राशिको कृष्णसेन इच्छुक साहित्य पुरस्कार वरिष्ठ साहित्यकार दिल साहनी, रु २५ हजार राशिको कृष्णसेन इच्छुक कला पुरस्कार इन्द्रबहादुर विक किशोर कपिलवस्तु र कृष्णसेन इच्छुक प्रतिभा पुरस्कार निभा शाह अछामलाई प्रदान गरियो ।
क्रान्तिकारी पत्रकार महासङ्घले पत्रकार तारा न्यौपानेलाई दिने घोषणा गरेको रु १० हजार राशिको पुरस्कार उनकी धर्मपत्नी निर्मलालाई तथा राष्ट्रिय कविता महोत्वसमा प्रथम, द्वितीय र तृतीय भएका गौरी दाहाल, अर्जुन ढकाल र राजु स्याङताङलाई पनि नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
अखिल नेपाल लेखक सङ्घले प्रकाशन गरेको लेखक साहित्यिक पत्रिकाको पनि अध्यक्ष वैद्यले विमोचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष खुशीराम पाख्रिनको सभापतित्वमा भएको सो कार्यक्रममा पुरस्कृत स्रष्टाहरु साहनी, विक र शाहका साथसाथै अखिल नेपाल लेखक सङ्घका अध्यक्ष हीरामणि दुःखी र पुरस्कार छनोट समितिक संयोजक डा जगदीशचन्द्र भण्डारी र ईश्वरचन्द्र ज्ञवालीले कृष्णसेनले जनयुद्वको साथसाथै साहित्य तथा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानबारे प्रकाश पारेका थिए ।
Powered by Blogger.
गुज्रेर हुने संविधानसभाको आशा अपेक्षा छैन : किरण
प्रकाशित मिति:
May 27, 2013