जेठ १५ । नेपालको खेलकुद क्षेत्रमा देशको कुल बजेटको एक प्रतिशत बजेट लगानी गरिएमात्र खेलकुद क्षेत्रले थप उचाई प्राप्त गर्न सक्ने औँल्याइएको छ ।
नेपाललाई सङ्घीय गणतन्त्र घोषणा भएको सुखद् अवसर पारेर काठमाडौँ जिल्ला खेलकुद महासङ्घद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले हाल खेलकुद क्षेत्रमा रु ५० करोड मात्र लगानी हुने गरेको बताए । खेलाडीले आफ्नै कठोर मिहिनेतबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा अमेरिकालाई समेत हराउन सफल भएको पनि उनीहरुले जानकारी दिए ।
राज्य, सरकार तथा खेलकुद परिषद्ले पनि कठोर मिहिनेत गर्ने हो भने खेलाडीको ठूलो समूह नै अन्तर्राष्ट्रिय क्षेत्रमा सफल हुन सक्ने उनीहरुको तर्क छ । साथै विद्यमान खेलकुद ऐनमा समयानुकूल परिवर्तन गर्नुपर्ने माग पनि उनीहरुको छ ।
कार्यक्रमका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मङ्सिरमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताए ।
उनले भने “राजनीतिक दलहरूबीचको सहमतिको अभाव र निर्वाचनसम्बन्धी ऐन मङ्सिरभित्र बन्न नसके निर्वाचनपछि धकेलिने पक्का छ ।
पोखरेलले अनिर्वाचित व्यक्तिले शासन गर्ने एक मिनेट पनि हक नभएको बताउँदै गणतन्त्रमा जनताले निर्वाचित गरेको प्रतिनिधिलाई मात्र शासन गर्ने हक हन्छ भने ।
महासङ्घका उपाध्यक्ष लक्ष्मण श्रेष्ठले गणतन्त्रको स्थापनापछि व्यक्तिले विचार अभिव्यक्त गर्ने स्वतन्त्रता पाएको बताए ।
सो महासङ्घको काठमाडौँ जिल्ला कमिटीका सचिव विजय तामाङले संविधानसभाको निर्वाचनमा भएको पराजयबाट शिक्षा लिएर नेतृत्व वर्ग अधि बढेमात्र एमालेको भविष्य रहने बताए ।
महासङ्घका अध्यक्ष सुदर्शन गुरुङले कार्यक्रमको सभापतित्व गनरेका थिए । कार्यक्रममा विभिन्न खेल, सङ्गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो ।
Powered by Blogger.
एक प्रतिशत बजेट खेलकुदलाई छुट्टाइनुपर्ने
प्रकाशित मिति:
May 29, 2013