जेठ १० । सिरहाको सोनमती मझौरा–४ का पाँच वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
सोनमती मझौरा–६ का ५० वर्षीय रुदल भनिने मोहम्मद इसुफ मियाँले जेठ ८ गते राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।
खाना खाएर सुतेको बालिकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेको हो । सुतेको कोठामा आफू पुगेपछि बालिका अचेत अवस्थामा रहेको र शरीरबाट रगत बगेको देखेर तत्कालै छिमेकीलाई जम्मा पारेको बालिकाकी आमाले बताएकी छन् ।
छिमेकी जम्मा हुनथाले पछि आरोपित मियाँ फरार भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बालिकालाई जेठ ९ गते बिहान सामान्य उपचार गराएको र ठीक नभएपछि बिहीबार बेलुका लहान अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लहान अस्पतालले बालिकाको उपचार सम्भव नभएपछि बिपी प्रतिष्ठान धरान पठाएको अस्पतालले जनाएको छ । तर पीडितको घरमा पुग्दा बालिका घरमै भेटिएकी छिन् ।
बालिकालाई स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको र घटनाको अनुसन्धानका लागि आरोपी रुदलको खोजतलास भइरहेको वडा प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख हरिराज बाग्लेले जानकारी दिए । आज बिहान सिरहाका अधिकारकर्मीको एक टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
अनुगमन गर्ने संस्थामा मुक्ति नेपाल, ओरेक नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक, दलित जनकल्याण युवा क्लब, र मानवअधिकार संरक्षण केन्द्र सञ्जाल छन् ।
अनुगमन गरेर फर्केका अधिकारकर्मी हेमा कार्कीका अनुसार बलात्कार जस्तो अपराधको घटनालाई गाउँमा मिलाउने प्रयास भइरहेको छ ।
अधिकारकर्मी कार्कीले पीडित परिवारले बिहीबार नै जानकारी गराएपनि प्रहरीले चासो नलिएको बताइन् । आज बिहान अधिकारकर्मी वडा प्रहरी कार्यालय पुगेपछि प्रहरीको टोली पीडित र पीडकलाई खोज्न घटनास्थलतर्फ गएको उनले बताइन् । रासस
Powered by Blogger.
५० वर्षीय पुरुषद्धारा ५ वर्षीया बालिका बलात्कृत
प्रकाशित मिति:
May 24, 2013