रोल्पामा एक दिने गर्भवती महिलाहरुको सम्मेलन
असार ९, रासस । मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यका साथ रोल्पामा पहिलोपटक गर्भवती महिलाको एकदिने सम्मेलन सम्पन्न भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा सूचना तथा सञ्चार विभागले आयोजना गरेको सो सम्मेलनमा जिल्लाका जङ्कोट, कोटगाउँ, कोर्चाबाङ, भाबाङ, ह्वामाका ६३ जना गर्भवती महिलाको सहभागिता रहेको थियो।
उक्त सम्मेलनमार्फत गर्भवती महिलाले गर्भवती अवस्थामा पाउनुपर्ने आधारभूत सेवा र उपचारका बारेमा प्रतिबद्धता तथा घोषणापत्रसमेत तयार पारिएको छ।
सो अवसरमा गर्भवती महिलाहरुको नियमित जाँच भिसिपी परामर्स सेवा, जन्मान्तरलगायतका स्वास्थ्य सेवा प्रवर्द्धनका विषयमा अन्तर्क्रियासमेत गरिएको थियो।
जिल्लका विभिन्न ठाउँमा अझै पनि स्वास्थ्य सेवाको राम्रो पहुँच नहुँदा सामान्य रोगका कारण पनि ज्यान गुमाउने अवस्था रहेकाले गर्भावस्थामा अपनाउनुपर्ने सजगताबारे उनीहरुलाई जानकारी गराउन सम्मेलनको आयोजना गरिएको हो।
जिल्लाका धेरै स्वास्थ्य संस्थामा प्रसूतिगृह स्थापना नहुँदा समस्या उत्पन्न हुने गरेको सहभागी गर्भवती महिलाले गुनासो गरेका थिए।
जिल्लामा पहिलोपटक यस्तो कार्यको थालनीले आगामी दिनमा गर्भवती भएको बेलामा अपनाउनुपर्ने संयमताका बारेमा सचेतना वृद्धि गर्ने अपेक्षा गरिएको छ भने मातृशिशु मृत्यू दरमा पनि कमी ल्याउन सकिने बताइएको छ।
प्रकाशित मिति:
June 23, 2013