लस्कर ए तोइवाका नेपाली एजेन्ट जयसवाल भएको भारतको दाबी
साउन १३ । नेपाल प्रहरीको आग्रहमा शुक्रबार भारतको बिहारमा पक्राउ परेका भूमिगत सशस्त्र समूह तराई मुक्ति मोर्चा ९प्रकाश समूह० का प्लाटुन ‘सैन्य कमान्डर’ अग्नि भनिने सुनिल जयसवाललाई भारततीय पक्षले लस्कर ए तोइवाका नेपाली एजेन्ट दाबी गरेको छ ।
नेपाल प्रहरीकै सुराकीमा भारतीय प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनी पाकिस्तानी आतंकवादी संगठन लस्करे ए तोइवाको नेपालस्थित एजेन्ट भएको भारतीय पक्षको दाबी छ ।
जयसवाल आफूलाई इमरान अहमदको नामले भारतमा चिनाउँदै आएका थिए । बारामा चार माओवादी कार्यकर्ता र शिक्षक हत्याको अभियोग लागेका उनलाई नारायणी अञ्चल प्रहरीको सूचनाका आधारमा नेपाल–भारत सीमा नजिकमा पर्ने बिहारको पूर्वी चम्पारणमा पर्ने आदापुर गाउँबाट नियन्त्रणमा लिइएको हो । हत्या, फिरौतीलगायत मुद्दाका उनी फरार थिए । मोर्चाको बारा, पर्सा, रौतहट इन्चार्ज रहेका जयसवाल नेपालमा ‘मोस्ट वान्टेड’ भएपछि बाराको मटिअर्वा गाविससँग सीमा जोडिएको आदापुर ससुराली घरमा एक समूह नै खडा गरेर बस्दै आएका थिए ।
उनले भारतीय नागरिकसँग बिहे गरेकै कारण भारतमा बसेर नेपाली व्यापारीसँग फिरौती असुल्ने गरेको आरोप नेपाल प्रहरीले लगाएको छ । भारतीय प्रहरीले भने लस्कर ए तोइवाको नेपालस्थित एजेन्ट भएको र उनले नेपालबाट पाकिस्तानमा आतंकवादी तालिम लिन मानिस पठाउने काम गर्दै आएको दाबी गरेको छ । नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जयसवाललाई नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरेको बताए । ‘बिहारमा पनि केही आपराधिक गतिविधिमा संलग्न रहेकाले नेपालमा तत्काल ल्याउन सकिएन, त्यहाँको कानुनी प्रक्रिया पूरा गरी ल्याइने छ,’ एसएसपी खनालले भने । उनलाई पक्राउ गर्न नेपाली प्रहरी पनि पुगेको थियो । उनलाई पक्राउ गर्न विगत एक महिनादेखि सुराकी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको आजको राजधानी दैनिकले खबर छापेको छ ।
प्रकाशित मिति:
July 28, 2013