सशस्त्र मधेस आन्दोलन चर्काउने योजनामा गुप्ता
भदौँ ५ । भ्रष्टचारको आरोपमा जेलपछि छुटेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता मधेसमा आन्दोलन चर्काउने तयारीमा रहेको खुल्न आएको छ ।
‘एक मधेस एक प्रदेश’को मुद्दालाई उठाएर उनले संविधानसभा निर्वाचन अगावै मधेसमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।
राजधानी दैनिकमा छापिएको खबर अनुसार गुप्ता तराईमा सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत नेतृत्वको सशस्त्र समूह र विकास तिवारी नेतृत्वको संघीय समाजवादी मोर्चासँगको सहकार्यमा आन्दोलन उठाउने तयारी छन् ।
अबको निर्वाचनबाट मधेसवादी दलहरू कमजोर हुने निष्कर्षसहित गुप्ताले निर्वाचन अगावै एक मधेस एक प्रदेशको एजेन्डाको छिनोफानो गर्नुपर्ने मागसहित आन्दोलन उठाउने अन्तिम कसरत सुरु गरेको खबरमा उल्लेख छ ।
यसअघि गुप्ता अर्धभूमिगत भएको भन्दै गृह मन्त्रालयले उनीमाथि निगरानी राख्न आदेश दिएको थियो । तर केही समयपछि गुप्ताले आफू भूमिगत नभएको भन्दै त्यसको खण्डन गरेका थिए ।
प्रकाशित मिति:
August 21, 2013