एबीसी टिभीसहित १६ सञ्चार माध्यमलाई आयोगले माग्यो स्पष्टीकरण
आसन्न संविधानसभाको निर्वाचनका लागि सुरु भएको मौन अवधिमा आचारसंहिता विपरित सामग्री प्रकाशन/प्रसारण गरेको भन्दै निर्वाचन आयोगले दैनिक पत्रिका ११, साप्ताहिक चार गरी १५ वटा पत्रपत्रिका र एक वटा टेलिभिजन संस्थालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आदेश दिएको छ।
आयोगले आइतबार एबीसी टेलीभिजनसहित १६ वटा सञ्चार संस्था लाई स्पष्टिकरण माग गरेको हो।
आयोगको मिडिया अनुगमन इकाईले गरेको अनुगमनका आधारमा ती सञ्चार संस्थालाई निर्वाचन आचारसंहिता विपरित सामग्री प्रकाशन/प्रसारण गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिने आदेश दिएको आयोगका प्रवक्ता वीरबहादुरले बताए।
मङ्सिर ४ को निर्वाचनका लागि शनिबार राति १२ बजेबाट मौन अवधि सुरु भएको थियो। यस अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको प्रचारप्रसार, सभा, सम्मेलन, मतदातालाई प्रभाव पार्ने खालका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने यसै अवधिमा सञ्चार माध्यमले पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचारप्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्नु हुँदैन।
निर्वाचन आयोगद्वारा निर्वाचन प्रयोजनका लागि साउन ७ गते जारी आचारसंहितामा मौन अवधि भन्नाले “मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन अन्तिम मतदान केन्द्र बन्द नहुन्जेलको समय सम्झनु पर्छ” भन्ने उल्लेख गरिएको छ।
तर यस अवधिमा निर्वाचन आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न भने पाइने उल्लेख गरिएको छ।
यसैबीच निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको समय भोलि सोमबार पनि वितरण गर्न सक्ने गरी व्यवस्था मिलाउन मतदाता अधिकृतहरूलाई सूचित गरेको छ।
आयोगले आजसम्मका लागि मतदाता परिचयपत्र वितरणको समय निर्धारण गरिएको थियो। आसन्न संविधानसभा निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८६५ जना मतदाता रहेका छन्।
ती मतदाताका लागि गत कात्तिक २९ गतेदेखि सबै जिल्लामा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरेको थियो।
आयोगले मकवानपुर जिल्लाको आँकडा गाविस मतदान केन्द्र लैजाँदै गरेको दुई थान मतपेटिका शनिबार राति लुटिएकोमा सुरक्षा निकायले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज बिहान ती मतपेटिका बरामद गरेको जनाएको छ।
यसैगरी कात्तिक २८ गतेदेखि सुरु भएको कल सेन्टरमा हालसम्म एक हजार २०० जनाले निर्वाचनसम्बन्धी सूचना, जानकारी लिएको आयोगले जनाएको छ। रासस
प्रकाशित मिति:
November 18, 2013