कृषिको छ, सेञ्चुरीको १३ र सिद्धार्थको चार गुणा नाफा बढ्यो, एनसीसी र सिभिल घटे
काठमडौं । असोज त्रैमासमा एनसीसी बैंक र सिभिल बैंकको नाफा घटेको छ भने सेञ्चुरी बैंकको १३ गुणाले नाफा बढको छ । सिद्धार्थ बैंकको नाफा चार गुणाले र कृषि बिकास बैंकको नाफा छ प्रतिशतले बढेको छ । शुक्रवार पाँच वाणिज्य बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकासित भएको छ ।
सिभिल बैंक
चालु आवको पहिलो त्रैमासमा सिभिल बैंकको नाफा ४५ प्रतिशतले घटेर एक करोड २४ लाखमा सिमित भएको छ । बैंकको अन्य आम्दानी २५ प्रतिशतले बढेर १० करोड पुगे पनि प्रोभिजनिङले नाफामा असर गरेको हो । बैंकले प्रोभिजनिङ वापतको रकम ३३ प्रतिशतले बढाएको छ ।
बैंकले प्रोभिजनिङ वापत छ करोड ३० लाख रकम छुट्याएको छ । बैंकको फि कमिसन लगायतबाट हुने आम्दानी भने ८९ प्रतिशतले बढेर एक करोड ९९ लाख रुपैयाँ पुगेको छ । बैंकले यसअघि खराब कर्जा बापत छ्टयाएको ११ लाख रुपैयाँ पनि फिर्ता गरेको छ ।
बैंकको निक्षेप ५१ प्रतिशतले बढेर १५ अर्ब ७० करोड रुपैयाँ र कर्जा लगानी ५० प्रतिशतले बढेर १३ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा मध्ये ५० प्रतिशत ओभरड्राफ्ट कर्जामा र १३ प्रतिशत रियल इस्टेटमा लगानी भएको देखिन्छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात भने बढेर १४.३६ पुगेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा पनि १.५ रहको छ । बैंकको प्रतिसेयर आम्दानी २.४९, प्रतिसेयर नेटवथ ९३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५ छ ।
सेञ्चुरी बैंक
सेन्चुरी बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा १३ गुणा (१२१५ प्रतिशत) ले बढेर दुई करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकले बैदेशिक मुद्राको बिनिमयबाट तीन करोड ५८ लाख आर्जन गरेपछि र खराब कर्जा बापत व्यवस्था गरेको २१ लाख रकम फिर्ता गरेपछि नाफा बढेको हो ।
बैंकको खुद व्याज आम्दानी १४ प्रतिशतले बढेर पाँच करोड ७३ लाख रुपैयाँ पुगेपछि पनि नाफा बढ्न सहयोग पुगेको हो । बैंकको यसपटक प्रोभिजनिङको रकम १३ प्रतिशतले घटेको छ ।
बैंकले प्राभिजनिङ अन्र्तगत एक करोड ९२ लाख छुट्याएको छ । बैंकको निक्षेप ८४ प्रतिशतले बढेर १२ अर्ब ९२ करोड रुपैयाँ र कर्जा लगानी ५४ प्रतिशतले बढेर नौं अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जामध्ये ५२ प्रतिशत ओभरड्राफ्ट कर्जामा र करिब चार प्रतिशत रियल इस्टेटमा लगानी भएको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात भने घटेर ११.८२ मा सिमित भएको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा भने बढेर ०.६३ प्रतिशत पुगेको छ । बैंकले यसै वर्ष आइपिओमार्फत सर्वसाधरणलाई सेयर जारी गर्दैछ ।
सिद्धार्थ बैंक
चालु आवको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफा चार गुणा (३८९ प्रतिशत) ले बढेर १० करोड पुगेको छ । बैंकको अन्य आम्दानी ९७ प्रतिशतले बढेर छ करोड ९६ लाख, खुद व्याज आम्दानी २४ प्रतिशतले बढेर २२ करोड पुगेपछि नाफा बढेको हो ।
बैंकले प्रोभिजनिङ वापतको रकम ३३ प्रतिशतले घटाएपछि पनि नाफा बढ्न सहयोग पुग्यो । बैंकले प्रोभिजनिङ अन्र्तगत आठ करोड ३७ लाख रुपैयाँ छुट्याएको छ । बैंकले यसअघि खराब कर्जा बापत छुट्याएको ८१ लाख रुपैयाँ पनि फिर्ता गरेको छ । बैंकको निक्षेप १५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड रुपैयाँ र कर्जा लगानी १२ प्रतिशतले बढेर २३ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको कुल कर्जामध्ये ४५ प्रतिशत ओभरड्राफ्ट कर्जामा र करिब १५ प्रतिशत रियल इस्टेटमा लगानी भएको देखिन्छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात भने बढेर १२ प्रतिशत पुगेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा पनि ३.०६ रहको छ । बैंकको प्रतिसेयर आम्दानी २६, प्रतिसेयर नेटवथ १७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.०३ रहेको छ ।
कृषि बिकास बैंक
चालु आवको पहिलो त्रैमासमा कृषि बिकास बैंकको नाफा साढे छ प्रतिशतले बढेर २३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनिङ ४८ प्रतिशतले बढेपछि नाफा केही कम भएको हो । बैंकले प्रोभिजनिङमा ४८ करोड रुपैयाँ छुट्टयाएको छ ।
बैंकको अन्य आम्दानी १७ प्रतिशतले बढेर १२ करोड ६७ लाख, खुद व्याज आम्दानी करिब १३ प्रतिशतले बढेर एक अर्ब पाँच करोड पुगेको छ । बैंकले यसअघि खराब कर्जा बापत छुट्याएको २३ करोड ५१ लाख रुपैयाँ पनि फिर्ता गरेको छ ।
बैंकको निक्षेप ३१ प्रतिशतले बढेर ६० अर्ब ६८ करोड रुपैयाँ र कर्जा लगानी २७ प्रतिशतले बढेर ५० अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जामध्ये ५० प्रतिशत ओभरड्राफ्ट कर्जामा र बैंकको रियल इस्टेटमा लगानी न्युन रहेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात केही घटे पनि १७.९४ छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा पनि ५.५७ छ ।
बैंकको प्रतिसेयर आम्दानी १७.५६, प्रतिसेयर नेटवर्थ २८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६ रहेको छ । बैंकले यस बर्ष साधारण सेयर लगानीकर्ताको लागि ५.६ प्रतिशत र अग्राधिकार सेयर लगानीकर्ताको लागि ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरे पनि नेपाल राष्ट्र बैंकले रोकेको थियो । बैंकको कर्जा निक्षेप अनुपात उच्च भएको र खराब सम्पत्ति अनुपात ६.२ प्रतिशतभन्दा उच्च भएपछि सन् २०१० पछि पहिलो पटक बैंकबाट आएको यस्तो घोषणा कार्यान्वयन हुने सकेको थिएन ।
एनसीसी बैंक
चालु आवको पहिलो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी ) बैंकको नाफा ३० प्रतिशतले घटेर तीन करोड २५ लाखमा सिमित भएको छ । बैंकको अन्य आम्दानी २४ प्रतिशतले घटेर १३ करोडमा सिमित भएपछि नाफा घटेको हो । बैंकको प्रोभिजनिङ वापतको रकम ६९ प्रतिशतले घटाए पनि नाफा बढ्न सकेन ।
बैंकले प्रोभिजनिङ वापत चार करोड १२ लाख रकम छुट्याएको छ । बैंकको फि कमिसन लगायतबाट हुने आम्दानी बढे पनि अन्य आम्दानी घटेपछि नाफा बढ्न सकेन । बैंकले यसअघि खराब कर्जा बापत छ्टयाएको एक करोड ६९ लाख रुपैयाँ पनि फिर्ता गरेको छ । बैंकको निक्षेप २७ प्रतिशतले बढेर २२ अर्ब ६८ करोड रुपैयाँ र कर्जा लगानी १४ प्रतिशतले बढेर १६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जामध्ये ४८ प्रतिशत ओभरड्राफ्ट कर्जामा र आठ प्रतिशत रियल इस्टेटमा लगानी भएको छ ।
बैंकले यसपटक भने रियल इस्टेटमा भएको लगानी १२ प्रतिशतले घटाएको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात भने बढेर ११.३३ पुगेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा पनि २.८२ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.८२, प्रतिसेयर नेटवथ १७८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.८४ रहेको छ । साभारः बिजमाण्डु डटकम
प्रकाशित मिति:
November 15, 2013