के छन् त बाबुरामका ११ बुँदामा
काठमाडौं, माघ । एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमाओवादी केन्द्रीय समिति बैठकमा ११ बुँदे सुझाव पेस गरेका छन् ।उनको र अर्का नेता नारायणकाजी श्रेष्ठको पनि सुझाव समेट्ने अधयक्ष पुष्पकमल दाहालको प्रतिबद्धता पछि दाहालको परिमार्जित राजनीतिक प्रतिवेदन पेस पारित भएको छ ।
जसमा भट्टराईले पेस गरेका ११ बुँदा भने यस्ता छन् :
छलफलका वुँदा
(क). वैचारिक प्रश्न
१. मुख्य संकट/समस्या-वैचारिक । कहिले जडसूत्रवादी र कहिले अनुभववादी-अन्तर्यमा सारसंग्रहवादी । वैचारिक अस्पष्टता, अस्थीरता र ढुलमुलपन । न्यून-पुँजिवादी वर्गीय आधार र चिन्तन ।
२. तत्कालीन 'आवश्यकता' मा वढी जोड र दीर्घकालीन सर्वहारा क्रान्तिकारी ध्येय अथवा 'स्वतन्त्रता' को दुनियाँ तर्फको अग्रसरता / निरन्तर क्रान्तिको मार्गमा कम ध्यान । आवश्यकतालाई 'वुझ्ने' मात्र होइन 'वदल्ने' कुरामा कमी ।
(ख). राजनीतिक प्रश्न
३. सन् १९७०-८० को दशकपछि सुरु भएको 'माओवादी' आन्दोलनमा गम्भीर प्रश्न र नयाँ मोड । आन्दोलनलाई नयाँ ढंगले विकसित र परिमार्जन गर्दै अघि वढ्ने नेपाली प्रयोग/प्रयासवारे थप छलफल/निष्कर्ष/संश्लेषणको आवश्यकता ।
४. साम्राज्यवादको पछिल्लो भूमण्डलीकृत रुपले उत्पीडित राष्ट्रहरुमा ल्याएको नयाँ वर्गीय संरचना/सम्वन्ध अथवा पराश्रति नोकरशाही/दलाल पुँजिवादको विकास/विस्तारले सम्वन्धित देश/नेपालको क्रान्तिको रणनीति र कार्यनीतिमा फेरवदल/असर ।
- नेपालको विशिष्ठ भू-राजनीतिक परिवेश र मुख्यतः भारतीय एकाधिकार पुँजिवादको उत्पीडनबाट मुक्तिको सन्दर्भमा नेपाली राष्ट्रियताको प्रश्न ।
५. नेपालमा उपरोक्त वस्तुगत कारणका साथै मुख्यतः माओवादी जनयुद्धले ल्याएको आत्मगत परिवर्तनको परिणाम स्वरुप प्राप्त राजनीतिक परिवर्तन-गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र इत्यादिको ऐतिहासिक महत्व । पुँजिवादी क्रान्तिका वाँकी कार्यभार नयाँ ढंगले पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने रणनीतिको समग्र कार्ययोजना/कार्यनीतिक श्रृंखला निर्माणको आवश्यकता ।
- २१ औं शताव्दीमा नयाँ ढंगको बोल्सेभिक क्रान्तिको खाका ।
६. जनवाद/लोकतन्त्रको नयाँ मोडेल विकासको प्रश्न । तत्काल समावेसी/समानुपातिक/ सहभागितामूलक लोकतन्त्र (पुँजिवादी लोकतन्त्रको विकसित रुप) को विकासमा ध्यान । दीर्घकालीन रुपमा विगतका समाजवादी व्यवस्थाहरुको नकारात्मक अनुभवहरु समेतबाट सिक्दै नयाँ ढंगको समाजवादी जनवादको मोडेलको विकासको प्रश्न ।
- पहिलो संविधानसभा सापेक्ष रुपले वढी प्रगतिशील रहँदा संविधान निर्माणमा कम ध्यान तर दोश्रो संविधानसभा वढी प्रतिगामी/यथास्थितिवादी बन्दा त्यसप्रति वढी आशक्ति रहनु वैचारिक/राजनीतिक अस्पष्टता/विचलनको अभिव्यक्ति ।
७. जनवाद/लोकतन्त्रको आधार/जग निर्माणको लागि उपयुक्त आर्थिक/सामाजिक विकासको मोडेल लागू गर्न विशेष ध्यान । उत्पादक शक्ति/सम्वन्धको पर्याप्त विकास विना जनवाद/लोकतन्त्र औपचारिक मात्र रहने कुरामा ध्यान । विश्व साम्राज्यवादको घेरावन्दीमा राष्ट्रिय अर्थतन्त्र निर्माणको प्रश्न ।
(ग). संगठनात्मक प्रश्न
८. मूलतः लेनिनद्वारा प्रतिपादित सर्वहारा वर्गको अग्रदस्ताको पार्टीको अवधारणा र जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा थप विकास र परिमार्जन । माओको 'निरन्तर क्रान्ति' र 'जनदिशा' को आलोकमा नयाँ ढंगको सर्वहारावादी पार्टी निर्माणको प्रश्न ।
- नेपाल जस्तो विविध वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको वाहुल्य रहेको समाजमा सर्वहारा वर्गीय पार्टीको निर्माण/विकासका विशिष्ठ समस्या/समाधान ।
९. पार्टीभित्र दुइ लाइन संघर्ष/अन्तरसंघर्ष संचालनको नयाँ विधिको विकास । एकमनावादी र वहुलवादी चिन्तन/शैलीको सट्टा 'विपरितहरुको एकत्व' मा आधारित भौतिकवादी एकतत्ववादी/द्वन्दवादी प्रणालीको स्थापना/विकास । अस्थायी 'विचार समूह' र स्थायी गुट/उप-गुटमा भेद । आलोचनात्मक चेत/प्रवृत्तिको प्रवर्द्धन/संरक्षण ।
१०. 'एक्काइसौं शताव्दीमा जनवादको विकास'को अवधारणा/प्रस्ताव अनुरुप 'सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति' को रुपमा पार्टी/सत्ताको नेतृत्व प्रणालीको विकास । एउटै व्यक्तिमा असीमित शक्ति/सत्ता केन्दि्रत गर्ने र लामो समय जिम्मेवारीमा रहने प्रथा/प्रवृत्तिको अन्त्य । पार्टी र सत्ताको नेतृत्वको कार्यविभाजन र चक्रीय प्रणाली । पार्टी/वैचारिक-राजनीतिक नेतृत्व अन्तर्गत सत्ता/अन्य सांगठनिक नेतृत्व रहने प्रणालीको विकास । एक-मा-तीन को सिद्धान्त अनुरुप क्रान्तिकारी उत्तराधिकारीहरुको निर्माण ।
(घ). विविध
११. सर्वहारा/जनवादी संस्कृति/संस्कार/आचरण/शैलीको विकास/प्रयोगमा विशेष ध्यान । निजी सम्पत्ति/परिवार वारे उपयुक्त नीति/कार्ययोजनाको आवश्यकता ।
- लालध्वज
२०७० माघ १४
प्रकाशित मिति:
February 01, 2014