नयाँ प्रधानमन्त्रीलाई आजै सपथ खुवाउने राष्ट्रपति कार्यालयको तयारी
माघ २७ । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज निर्वाचन हुँदैछ । संसदले नयाँ प्रधानमन्त्री चयन गरेमा आजै सपथ ग्रहण गर्ने गरी तयारी समेत गरिएको छ ।
राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको सपथ आजै गर्ने गरी तयारी पूरा गरेको हो ।
प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति सुशिल कोइराला एक्लैले उम्मेदवारी दिएका छन् । कोइरालालाई एमालेले समर्थन गरेपछि कोइराला प्रधानमन्त्री हुने पक्कापक्की जस्तै छ ।
कोइराला प्रधानमन्त्री भएलगत्तै शीतल निवासमा सपथको कार्यक्रम राख्ने तयारी शितल निवास स्रोत बताउँछ ।
निर्वाचन प्रक्रिया पूर्व निर्धारित कार्यक्रमअनुसार बिहान ११ बजे देखि सुरु हुने छ । एक मात्र उम्मेदवार रहेको अवस्थामा निर्वाचनमा विजयी हुन बहुमत सभासद्ले पक्षमा मतदान गर्नुपर्नेछ । प्रधानमन्त्री चुनिनको लागि कोइरालाको पक्षमा २८६ मत आउनुपर्छ । अहिले संविधानसभा अपूर्ण रहेको र कांग्रेस र एमालेका २ नेताहरु २ ठाउँबाट निर्वाचित रहेकाले ५ सय ७१ जना सदस्य मात्र रहेका छन् ।
प्रकाशित मिति:
February 10, 2014