दुवै माओवादीको सरकारलाई कडा चेतावनी
वैशाख ३ । जनयुद्धकालीन घटना ब्युताएर आफ्ना कार्यकर्ता पक्राउको विरोधमा दुवै माओवादीले कडा चेतावनी दिएका छन् । उनीहरुले पक्राउ परेका कार्यकर्तालाई रिहा गरी मुद्धा फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा समेत गरेका छन् ।
एमाओवादी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले जनयुद्धकालिन मुद्धा ब्युताएर शान्ति प्रक्रियाको भावनामाथि हमला गर्ने कार्य नरोकेसम्म सदन र सडकमा समेत संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।
‘नेपालको अन्तरिम संविधान २०६३, शान्ति सम्झौता, पटक पटक भएका सहमति र समझदारीलाई लत्याएर सरकारले जनयुद्ध कालीन मुद्धाहरुलाई ब्युताउने, धरपकड गर्ने,, गोरखा फुजेल घटनाका निहुमा थुनामा राख्ने लगायतका हर्कतद्धारा संविधान निर्माणमा अवरोध पुर्याउने, शान्ति प्रक्रियाको भावनामाथि हमलो गर्ने काम भएको छ’ अध्यक्ष दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समग्र परिवर्तनको प्रक्रियालार्य रोक्ने प्रकारका व्यवहार गरेकाले यस्ता व्यवहार नसच्याएसम्म सदनमा र सडकमा समेत संघर्ष अघि बढाइने छ ।’
यता, नेकपा माओवादीले भने जनयुद्धकालिन घटना ब्युताएको भन्दै बिहीबार राजधानीमा विरोध प्रदर्शन समेत गर्ने भएको छ । युद्धका क्रममा घटेका घटनालाई सरकारले एकतर्फी ढङ्गले “अपराधिक क्रियाकलाप” भन्दै मुद्दा दायर गर्ने निहुँमा सर्वसाधारण एवम् नेकपा–माओवादीका कार्यकर्ता समेतलाई दुःख दिई आतङ्क फैलाउने काम गरेको भन्दै माओवादीले कडा आपत्ति समेत जनाएको छ ।
‘एकातिर सरकारले सत्य निरुपण तथा वेपत्ता नागरिकसम्बन्धी कानुनको हवाला दिइरहेको र अर्काेतिर देशव्यापि रुपमा जनयुद्धका मुृद्दाहरु लगाउँदै जनतालाई आतङ्कित पारिरहेको कार्यले शान्तिप्रक्रिया बिथोलिएको छ’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘फुजेल प्रकरण लगायतका यसप्रकारका सम्पूर्ण मुद्दाहरु सरकारले फिर्ता लिई राजनीतिक सहमति कायम गर्दै कानुन निर्र्माण एवम् आयोग बनाई यसप्रकारका घटनाहरुको छानविन प्रक्रिया अगाडि बढाउन हामी माग गर्दछौं, त्यसो नहुने हो भने हामी जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुनेछौं ।’
प्रकाशित मिति:
April 16, 2014