प्रचण्ड फर्किए काठमाडौं, कम छैन एमाओवादी नेतृत्व किचलो
वैशाख १० काठमाडौं । पार्टी भित्र नेतृत्व परिवर्तन र नयाँ शक्तिको बहस चलिरहेको अवस्थामा दस्तावेज लेखनका लागि गोप्य स्थान खोज्दै काभ्रे पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी फर्किएका छन् ।
पार्टीको राजनीतिक दस्तावेज लेखेर बुधबार दाहाल काभ्रेबाट काठमाडौं फर्किएका हुन् । साङ्गठनिक तथा समसामयिक राजनीतिक विषयमा दिनभर लगाएर दाहालले दस्तावेज लेखेको उनको सचिवालयले जनाएको छ । दाहालले लेखेको दस्तावेज अन्तिम चरणमा पुगेको र त्यसलाई काठमाडौंमा बसेर पूर्णता दिने दाहालको तयारी रहेको छ ।
अध्यक्ष दाहाल मंगलबार काभ्रेको नमोबुद्ध रिसोर्ट गएका थिए । आगामी वैशाख १८ गतेदेखि विराटनगरमा हुने राष्ट्रिय सम्मेलनका लागि दाहाल राजनीतिक दस्तावेज लेख्न काभ्रे पुगेका थिए ।
एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा पार्टीमा आफ्नो स्पेस खोजिरहेको अवस्थामा सबैलाई मिलाएर सम्मेलनमा दस्तावेज पास गराउनु दाहालका लागि निक्कै चुनौतीपूर्ण समेत छ । भट्टराई नजिकको स्रोतका अनुसार अध्यक्ष दाहालको दस्तावेज हेरेर फरक दस्तावेज ल्याउने कि नल्याउने भनी दाहालको दस्तावेजको पखाईमा भट्टराई पक्षधर छन् ।
एमाओवादी राजनीतिक कार्यदिशामा खासै अलमलता नभएपनि पार्टी नेतृत्वका विषयमा भने विवादित बन्दै गएको छ । नेता भट्टराईले त सार्वजनिक रुपमै नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने भनेर उदघोष गर्दै आएका छन् । तर, दाहाल पक्षले यसको विरोध गर्दै आएको छ ।
एमाओवादी भित्र नेतृत्वको विवाद कतिसम्म छ भन्ने पार्टी पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले औपचारिक रुपमै खुलासा गराएका छन् । ललितपुर एमाओवादीको आठौं जिल्ला सम्मेलन बुधबार उद्घाटन गर्दै उनले ठूलो नेता बन्ने घमण्डले जनइच्छाअनुसार काम नगर्दा पार्टी खुम्चिन पुगेको बताए । पार्टी नेतृृत्वको विषयमा नेता श्रेष्ठले जनताबाट अनुमादेन गरेर मात्रै नेतृत्व चयन गरिनुपर्ने तर्क समेत गरेका थिए । एमाओवादीको महाधिवेशन नजिएको सन्दर्भमा श्रेष्ठले एमाओवादीका पुराना सबै रणनीति फेल खाएको टिप्पणी समेत गरेका छन् ।
एमाओवादी अर्का बरिष्ठ नेता कृष्ण बहादुर महराले पार्टीको कार्यदिशा हेटौंडा महाधिवेशनले अघि सारे बमोजिम नै हुने स्पष्ट पारेका छन् । पार्टीको चौथो रोल्पा जिल्ला सम्मेलनका क्रममा रोल्पा पुगेका महराले पार्टीले हेटौंडा महाधिवेशन मार्फत पारित गरेको कार्यदिशालाई अघि सार्दै कम्युनिष्ट पार्टीहरु बीच एकता गरेर साम्यवादी व्यवस्था ल्याउन पहल गर्नु पर्ने अवस्था आएकोमा जोड दिएका थिए ।
प्रकाशित मिति:
April 23, 2014