सामान्य गल्तिमा प्रहरीले कपाल खौरिएर सजाय दिने गरेको गुनासो
सुर्खेत, २६ वैशाख । प्रहरीले सामान्य गल्तीमा हिरासतमा लिइएकालाई पनि बेइज्यतिपूर्ण रुपमा सजाय दिने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।
विभिन्न आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राखेर प्रहरीले चरम यातना दिने, मुर्गा बनाउने, अरु थुनुवाबाट कुट्न लगाउने गरेको पाइएको छ ।
मादक पदार्थ सेवन चेकजाँचको नाममा प्रहरीले दुव्र्यवहार गर्ने, अनावश्यक सोधपुछ गरी आतङ्कित पार्ने गरेको गुनासो पनि सर्वसाधारणले गरेका छन् ।
सामान्य गल्तीमा पनि नियन्त्रणमा लिने र चर्को जरिवाना तिराउने, हिरासतमा राखेर कपाल खौरिने, कुहिनाले हिँड्न लगाउने, फोहर सफा गर्न लगाउने गरेको प्रहरी हिरासतबाट छुटेका एक जनाले नाम नबताउने सर्तमा बताए ।
प्रहरीले बढीजसो दुव्र्यवहार मादक पदार्थ सेवन चेकजाँचका बेला गर्ने गरेको आरोप सर्वसाधारणको छ । प्रहरीले सवारी चालक अनुमति पत्र र सवारी धनी प्रमाण पत्र देखाउँदासमेत अरु नै बहाना बनाएर जिल्ला प्रहरी कार्यालय बोलाएर दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक प्रकाश अधिकारीले भने प्रहरीले चेकजाचका क्रममा कसैलाई पनि अनावश्यक रुपमा दुःख दिने काम नगरेको दाबी गरे ।
।
उनले कसैले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको प्रर्याप्त प्रमाण देखाए त्यस्ता प्रहरीलाई तत्काल कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे । रासस
प्रकाशित मिति:
May 09, 2014