प्रेमिकाले धोका दिएपछि पैसा असुल

प्रेमिकाबाट धोका पाएपछि हाल मलेसियामा काम गर्दै आएका नुनथला–८ का सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम फिर्ता लिएका हुन् ।
विसं २०७० असार–३१ गतेका दिन ‘सँगै मर्ने र सँगै बाँच्ने’ कसम खाएर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले प्रेम गरेको अवधिमा प्रेमिकालाई पठाएको रु ५६ हजार २५० प्रहरीको सहयोगमा फिर्ता लिएका हुन् । विभिन्न बहानामा पैसा लिएकी प्रेमिकाले धोका दिएर अर्कैसँग विवाह गरेपछि प्रहरीको सहयोगमा रकम फिर्ता लिइएको राईले टेलीफोनमार्फत जानकारी दिए ।
विदेशबाट फर्किएपछि विवाह गर्ने सर्तमा मलेसियाबाट मासिक रुपमा खर्च पठाइदिने दिए पनि अर्कैसँग विवाह गरेपछि आफूले पठाएको रकम फिर्ता लिएको राईको भनाइ छ । राईका अनुसार उनीहरुबीच तीन वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ ।
बिना कारण झुटो आरोप लगाउँदै प्रेमिकाले गएको जेठ तेस्रो साता अर्कै केटासँग विवाह गरेकाले प्रेमीले रकम असुल गराइदिन भन्दै प्रहरीसमक्ष इमेलमार्फत उजुरी दिएको प्रहरीले जनाएको छ । राईले विभिन्न समयमा प्रेमिकालाई पैसा पठाउनका लागि आइएमई गरेको १४ वटा बीलसहित प्रहरीसमक्ष रकम फिर्ताका लागि उजुरी दिएका थिए ।
प्रहरीमा उजुरी दिएर फोनबाट बारम्बार ताकेता गरेपछि पूर्वप्रेमिकाले राईका साथी राजन भट्टराईमार्फत रकम फिर्ता दिएकी हुन् । प्रेमिकाले विवाह गर्नुअघि फेसबुक र फोनबाट अपशब्द बोल्ने र सम्झाउँदा उल्टै तर्किएको व्यवहार देखाएको राईको भनाइ छ ।
प्रकाशित मिति:
July 06, 2014