सुनकोशी थुनिदा सप्तकोसी पनि उच्च सुरक्षा सतर्कता
साउन १७ । सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।
बिहानैदेखि प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठक बसेर विसं २०६५ साल भदौ २ गते तटबन्ध भत्किएर भएको जनधनको नोक्सानी जस्तो नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
भारत विहार राज्यको सुपौल जिल्लाका जिल्ला प्रमुख लक्ष्मीप्रसाद चौहानसँग पनि सम्पर्क स्थापित गरेर उनको निर्देशनमा कोसी ब्यारेज प्रमुख राजेश कुमारलाई ब्यारेजमा उच्च सतर्कताका साथ नियन्त्रण सावधानी अपनाउन भनिसकिएको बताइएको छ ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले पनि सम्बन्धित जिल्लामा रहेका नेपाली सेनालाई भोटेकोसी, सुनकोसी, दूधकोसी हुँदै सप्तकोसी नदी आसपासका बस्तीलाई जोखिम हुन सक्नेतर्फ सतर्क रहन सूचना प्रवाहका लागि परिचालन गरेको छ ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा बसेको सुरक्षा समितिको बैठकले पनि अति संवेदनशील क्षेत्रका रुपमा रहेका बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र हरिपुर तथा कोसी ब्यारेज क्षेत्रमा बसोवास गर्दै आएका मानिसलाई उच्च सजगताका साथ बस्न सूचित गर्न प्रहरी प्रशासन परिचालन गरेको बताइएको छ ।
भोटेकोसीको पहिरो अवरोध भत्किएर एक्कासि कति पानी आउन सक्छ भन्ने प्राविधिक अनुमान गर्ने कार्यसमेत भइरहेको बताइएको छ । कति पानी आउँदा ब्यारेजका ५६ ढोकामध्ये कति वटा ढोका खोल्दा सहजै रुपमा पानी जान सक्छ र ब्यारेजलाई खतरा नहुन सक्छ भनेर भारत सुपौलका जिल्ला प्रमुख चौहानले प्राविधिक टोली नै परिचालन गरेको पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । रासस
प्रकाशित मिति:
August 02, 2014