के के छन् त वैद्य मोर्चाका नयाँ चार प्रस्ताव
भदौ २८ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चैत्रमा चुनाव सारिए आफूहरु पनि निर्वाचन सहभागी हुन तयार रहेको नयाँ प्रस्ताव राजनीतिक दलहरुसँग पेस गरेको छ ।
राष्ट्रपतिले आहृवान गरेको सर्वदलीय बैठकमा शुक्रबार माओवादीले मंसिरको चुनाव सारिनुपर्ने, मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीस पदबाट राजीनामा दिनुपर्ने, विवादित विषयहरु गोलमेचबाट टुंग्याउनुपर्ने लगायतका माग राखेको छ ।

उक्त प्रस्तावमा मिश्रित प्रतिक्रिया दलका नेताहरुले दिएका छन् । यही विषयमा टुंगो लगाउन शनिबार आन्तरिक छलफल र आइतबार पुनः शितल निवासमै सर्वदलीय बैठक बस्ने निर्णय दलहरुले गरेका छन् ।
शुक्रबार १९ दलको सहभागिता रहेको छलफल २ बजेदेखि करिब ७ बजेसम्म चलेको थियो ।
यस्ता छन् नयाँ चार प्रस्ताव
१. राष्ट्रिय सहमतिको लागि गोलमेच सभाको आयोजना गरिनुपर्ने । गोलमेच सभामा संविधानसभाका सदस्य रहेका दलहरुका साथै आन्दोलनरत दलहरुलाई सहभागी गराइनुपर्ने । गोलमेच सभाको निर्णय प्रक्रिया सहमतिको आधारमा हुनुपर्ने ।
२. वर्तमान सरकारको सट्टा संविधानको धारा ३८ (१) अनुसारको दलीय सरकार गठन गरिनुपर्ने । दलीय सरकारको स्वरुप र त्यसको नेतृत्व बारेमा छलफल गरी सहमति कायम गर्न सकिने । वर्तमान सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानन्यायाधीश ज्यूले प्रधानन्यायाधीश पदबाट राजिनामा दिन तयार हुनुभएमा वहाँकै नेतृत्वमा पनि दलीय सरकार गठन गर्न सकिने छ ।
३. निर्वाचनमा सबै दलहरुलाई सहभागी गराउन राष्ट्रिय सहमतिमा संविधानसभाको दोस्रो निर्वाचन २०७० साल चैत्र महिनामा सार्ने ।
४. नयाँ संविधान निर्माणका मूलभूत अन्तर्वस्तुहरु, नयाँ संविधान निर्माणको मार्गचित्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत १८ बुँदामा उठाइएका विषयहरु गोलमेचसभामा छलफलको कार्यसूची बनाई आवश्यक निर्णय गर्ने ।
प्रकाशित मिति:
September 13, 2013