९० हजार मत बराबर एक समानुपातिक सांसद
काठमाडाैं २५ मंसिर
समानुपातिकतर्फ धमाधम मतगणना जारी रहेको बेला दलहरूले एक सांसदका लागि करिब ९० हजार मत ल्याउनुपर्ने देखिएको छ ।
समानुपातिकमा पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा खसेको मतअनुसार करिब ९० हजारबराबर एक समानुपातिक सांसद हुने देखिएको हो । पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ कुल मतदाता थिए । निर्वाचन आयोगका अनुसार ६५ प्रतिशत मत खसेकोमा २० लाख ७४ हजार ७ सय ६४ मत खसेको छ ।
यसैगरी, दोस्रो चरणको निर्वाचनमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९९ मतदातामा ६७ प्रतिशत मत खसेको आयोगले जनाएको छ । जसअनुसार ८१ लाख ९८ हजार १ सय १३ जनाले मतदान गरेका छन् ।
पहिलो र दोस्रो चरणमा गरेर १ करोड २७ लाख २ हजार ८ सय ७७ मत खसेको पाइएको छ । समानुपातिकको १ सय १० सिटले भाग गर्दा ९३ हजार ३ सय ८९ मतबराबर एक सांसद हुने देखिएको छ । उक्त संख्यामा बदर मतलाई घटाउँदा पनि करिब ९३ हजारबराबर एक सांसद हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ मा दलहरूले पाएको समानुपातिक मतपरिणाम ‘क्योसेन्ट’ मतपरिणाम विभाजक सूत्रमार्फत गरिने उल्लेख छ । जसअनुसार निर्वाचनमा दलले प्राप्त गरेको मतपरिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि भाजकले भाग गरी प्राप्त हुने भागफललाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिनेछ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपरिणाम विभाजक सूत्रबाट गरिने बाँडफाँट र कुल मतलाई समानुपातिक सिट (१ सय १०) ले भाग गर्दा आउने संख्या एउटै नभए पनि एक–दुई सिट तलमाथि पर्नेगरी अनुपात मिल्ने भएकाले समानुपातिकतर्फ करिब ९० हजार मतबराबर एक सांसद हुने देखिएको हो ।
निर्वाचन कानुनअनुसार प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् । प्रत्यक्षमा एक सिट पनि नजित्ने र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त नगर्ने दलको मत सांसद प्रयोजनका लागि गणना नहुने निर्वाचन कानुनमा उल्लेख छ ।
प्रकाशित मिति:
December 11, 2017