राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरे दोहोरो सत्ता चलाउँछौँ : गजुरेल
असार २८– एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरे दोहोरो सत्ता चलाउँने चेतावनी दिएका छन् ।
बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले भने ‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरे दोहोरो सत्ता चलाउँछौँ ।’ गजुरेलले अन्य राजनीतिक दलले राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न उकासिरहेको समेत आरोप लगाएका छन् ।
रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले राष्ट्रपतिले साउन सात गते पर्खिएको बताउँदै भने ‘ ‘राष्ट्रपतिले साउन ७ गतेलाई पर्खिनु भएको हो । त्यसपछि मुलुकको राजनीतिक अवस्थामा परिवर्तन हुन्छ,’ महतले साउन सात गते राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्ने समेत बताएका छन् । महतले राष्ट्रपतिले सहमतिको सरकारका लागि आह्वान गर्नासाथ कांग्रेसले प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने समेत बताए ।
साक्षात्कार कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आफैँले घोषणा गरेको संविधानसभाको निर्वाचन गर्न नसक्ने प्रधानमन्त्रीलाई राष्ट्रपतिले असक्षम प्रधानमन्त्रीका नाममा पदमुक्त गर्न सक्ने समेत बताएका छन् ।
प्रकाशित मिति:
July 12, 2012