राष्ट्रिय सभाको ५६ सिटका लागि ८३ को उम्मेदवारी, १७ जना निर्विरोध (निर्विरोधको नामावलीसहित)
काठमाडौं १० माघ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १७ जना निर्विरोध भएका छन् । निर्विरोध हुनेहरुको नाम १५ गतेपछि दाबी विरोध नपरेको खण्डमा विजयी घोषणा गरिने भएको छ ।
निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।
यी हुन निर्विरोध
आगामी २४ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा ५६ जनामध्ये विभिन्न राजनीतिक दलका १७ जना उम्मेदवार निर्विरोध छनोट भएका छन् ।
संविधानको ८६ कोे उपधारा २ क बमोजिम क्लस्टरका आधारमा तोकिएको संख्याअनुसार विभिन्न दलका १७ जना उम्मेदवार निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित भए पनि निर्वाचन कार्यक्रमअनुसार प्रक्रिया पूरा भएपछि मात्रै उनीहरूलाई विजयी घोषणा गरिने भएको छ । उनीहरूविरुद्ध दाबी विरोध नपरेको अवस्थामा आयोगले निर्वाचनअगावै उनीहरूलाई विजयी घोषणा गर्नेछ ।
निर्विरोध उम्मेदवारहरूमा प्रदेश १ बाट तीन महिला, प्रदेश २ मा खुलाबाहेक पाँच जना, प्रदेश ५ बाट तीन महिला, र प्रदेश ७ बाट तीन÷तीन जना खुला र महिलातर्फ निर्विरोध भएका हुन् । प्रदेश ३, ४ र ६ मा भने सबै पदमा निर्वाचन हुने भएको छ ।
प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, कांग्रेसकी सरिता प्रसाईं, माओवादीकी विना पोखरेलको निर्विरोध उम्मेदवारी परेको छ ।
प्रदेश २ बाट महिला तीन सिटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको निर्विरोध उम्मेदवारी परेको छ । दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लाल निर्विरोध उम्मेदवार बनेका छन् । खुलातर्फ भने तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ ।
प्रदेश ५ मा एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध उम्मेदवार बनेका छन् ।
प्रदेश ७ मा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दु कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्ट निर्विरोध भएका छन् । प्रदेश ७ मा दलित र अपांग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ ।
प्रदेश ३, ४ र ६ मा सबै आठ÷आठ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा आठ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश ६ को आठ सिटमा पनि १२ जनाको उम्मेदवारी परेको छ ।
विभिन्न सिटमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परे पनि तत्कालै उनीहरूलाई निर्विरोध भएको घोषणा भने १५ गते मात्रै हुने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
January 24, 2018