भारतीय प्रधानमन्त्रीको साथले चम्केका जीत बहादुर
विष्णु नेपाल/रत्न श्रेष्ठ
काठमाडौँ, १८ साउन । ‘म खुसी छु । भोलि उनको(जीतबहादुर सारु मगर) परिवारजनसंँग छोराको पुनर्मिलन हुनेछ ... ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार ती भनाई आफ्नो सामाजिक सञ्जाल ट्विटरमा सम्प्रेषण गरेका थिए ।
त्यो ट्विट भएको १२ घण्टा बित्न नपाउँदै आज अपराह्न काठमाडौंको होटल हायातमा यसले सार्थकता पायो । भारतीय प्रधानमन्त्री मोदी आफ्ना धर्मपुत्रका परिवारजनलाई भेट्दा औधि खुशी भए । प्रधानमन्त्री मोदीले भने “धन्य ! हामी उनको परिवारजनलाई भेटाउन सफल भयौँ । ”
यता जीतबहादुर सारुमगरका परिवारजनलाई पनि कुन बेला प्रधानमन्त्री मोदी र जीतबहादुरलाई भेट गर्न पाइएला भन्ने व्यग्र प्रतीक्षा थियो । उनीहरु शनिवारमात्र नवलपरासीबाट काठमाडौ आई होटल हायातमा बसेका थिए ।
शनिवारको प्रधानमन्त्री मोदीको ट्विटमा भनिएको थियो “नेपालको यस यात्रामा मेरो केही व्यक्तिगत भावना पनि जोडिएको छ । वषौँ पहिले नेपालका एक बालक जीतबहादुर सारुमगरसंँग उनको असहाय अवस्थामा मेरो भेट भयो । उसलाई केही थाहा थिएन , कहाँ जाने ? के गर्ने ? कसैलाई चिन्दैनथे, भाषा पनि राम्रोसंँग आउँदैनथ्यो ।”
“भगवानको कृपाले मैले उसको जीवनको बारेमा चासो लिन थाले । विस्तारै उसको पढाई, खेलकूदमा ध्यान जान थाल्यो । उनले गुजराती भाषा पनि जान्न थाले । केही समयपहिले हामी उसको बाबु आमा खोज्न सफल भयौँ । यो यसकारण सम्भव भयो कि उनको खुट्टामा ६ वटा औंला थिए,” प्रधानमन्त्री मोदीले रोचक ट्विट गरेका थिए ।
आफ्ना परिवारजनलाई प्रधानमन्त्री मोदीसँंग भेट गराएपछि जीतबहादुरले भने “यो भेट ईश्वरको कृपाले नै गराएको हो । ” जीतबहादुरले नेपालमा पनि गुजरातमा जस्तै विकास भएको हेर्न चाहेको प्रतिक्रिया दिए । “ मेरो लागि मोदी ईश्वरझंै प्रकट हुनुभो, उहाँ नहुनुभएको भए म यो अवस्थामा तपाईहरुसँग प्रस्तुत हुन सक्ने थिईन,” २७ वर्षिय जीतबहादुरले भने ।
जीतबहादुरले केही समय परिवारजनसँग विताउन चाहेपनि उच्च शिक्षा भारतमै अध्ययन गरिरहेकाले उतै जाने पनि बताए । दश वर्षको उमेरमा नेपालको नवलपरासीबाट भारततीर भौंतारिने क्रममा भारतको गुजरात प्रान्तको अहमदाबाद पुगेका थिए । त्यहाँ असहाय अवस्थामा पुग्दा एक महिलाले उनलाई उद्धार गरी मोदीसँग चिनाएपछि झण्डै डेढदशकदेखि उनी मोदीको अभिभावकत्वमा आफ्नो भविष्य उज्ज्वल बनाइरहेका छन् ।
प्रकाशित मिति:
August 03, 2014