बाहिर नखानु नै राम्रो
घनश्याम खड्का
आश्विन - हामीहरूले देखेकै छौं पेट्रोल, डिजेल नभई गाडी चल्दैन। पेट्रोल, डिजेल गाडीको खानेकुरा हो। यसलाई हामी इन्धन भन्छौं। इन्धन भनेको के हो त? यो शक्ति दिने स्रोत हो। शक्तिलाई हामी अर्काे शब्दमा ऊर्जा पनि भन्छौं।ऊर्जाले यन्त्रहरू चलेको त हामीले देखेकै छौं। हाम्रो जीवन पनि यसैले चल्छ भन्नेचाहिँ ख्याल गरेका छौं कि छैनौं? मोटरलाई कुद्न ऊर्जाको आवश्यकता परेजस्तै काम गर्न, हिँड्डुल गर्न, पढ्न र बोल्नसमेत हामीलाई पनि ऊर्जा चाहिन्छ।
कम्प्युटरले बिजुलीबाट, कारले पेट्रोलबाट र वाष्प इन्जिन जडित रेलले कोइलाबाट ऊर्जा पाएजस्तै हाम्रो शरीरले ऊर्जा पाउँछ खानेकुराबाट।
शरीर पनि एउटा यन्त्रजस्तै हो। वैज्ञानिकहरू यसलाई 'जैविक यन्त्र' भन्ने गर्छन्।
मान्छेले बनाएको हालसम्मको यन्त्रभन्दा प्रकृतिले बनाएको यो जैविक यन्त्र धेरै गुणा राम्रो, वैज्ञानिक र अद्भुत छ। त्यसैले यसले स्याउदेखि आलुसम्मबाट पनि ऊर्जा निकाल्न सक्छ। यस्तो अद्भुत यन्त्र पनि बेलाबखत बिगि्ररहन्छ। पेट दुःख्नु, पखाला लाग्नु, जरो आउनु भनेको त्यही त हो !
यस्तो किन हुन्छ त? पेट्रोल खराब पर्यो भने इन्जिन बिग्रेको त पक्कै देखेका छौ होलाऊ। ऊर्जाको स्रोत अशुद्ध र मिसावटयुक्त भयो भने यन्त्रहरू चल्दैनन्।
हाम्रो शरीरका हकमा पनि ठयाम्मै यही लागू हुन्छ। खाने कुरा अशुद्ध भयो भने, मिसावटयुक्त पर्यो भने र त्यो बासी सडेगलेको रहेछ भने शरीरलाई त्यसले सीधै असर गर्छ। हामी बिरामी हुन्छौं।
उसो भए, कस्तो खाना खानु वेश हो त? सबभन्दा राम्रो हो रासायनिक तत्त्व नमिसाएको खानु। मेसिनबाट उत्पादन भएका, धेरै दिनसम्म राखेका खानु त राम्रो हुँदै होइन। भर्खरै बनाएका ताजा र सफा खानु राम्रो हो। त्यो पनि खुला र सडकको खानुचाहिँ राम्रो हुँदो रहेनछ। एउटा अध्ययनले त्यही देखाएको छ।
यो अनुसन्धान गरेकी हुन्- स्वास्थ्य परिचारिका सविता कट्टेलले। उनले हालै ठिमीको एउटा विद्यालयका माध्यमिक तहमा पढ्ने विद्यार्थीका माँझ खुला ठाउँको खानेकुराले पार्ने असर- बारेमा अध्ययन गरेकी थिइन्।
अचेल सडक किनारमा धेरै मानिसहरू चटपटे, पानी पुरी, ससेज वा मःम खाइरहेका भेटिन्छन्। नानीबाबुहरूले पनि पक्कै खाएको होलाऊ। अचेल दुनियाँ हतारमा छ। त्यसैले मानिससँग समय कम छ। भोक लागेका बेला तुरुन्तै र हतारमा खानुपर्दा यस्तोमा जाने चलन बढेको हो। तर यस्तो ठाउँमा खाँदा स्वास्थ्यचाहिँ गडबड हुन्छ।
सविताको अनुसन्धानमा संलग्न विद्यार्थीमध्ये ज-जसले सडकको खाने कुरा खाएका थिए उनीहरूले स्वास्थ्यमा समस्या आएको बताए। उनले
जम्मा ५२ विद्यार्थी अध्ययनका लागि छानेकी थिइन्।
त्यसमध्ये ४४ प्रतिशतले घरबाटै खानेकुरा ल्याउँथे। तिनको स्वास्थ्यमा खासै समस्या थिएन। तर ज-जसले बाहिरका कुरा खाने गर्थे तिनीहरूमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, जरो आउने इत्यादि समस्या देखियो।
शरीर ठीक हुन खाना ताजा त हुन पर्छ नै, खाने ठाउँ, भाँडो र दिने हात पनि सफा अनि कीटाणुरहित हुनै पर्छ। खानुअघि हात पनि धुनै पर्छ। अनि मात्रै त्यसले स्वास्थ्यमा बिगार गर्दैन।
तर फुटपाथमा यी सबै अवस्थाहरू पूरा गर्न मुस्किल मात्रै होइन, असम्भव नै हुन्छ। त्यसो हुनाले बाहिरको खाने कुरा नखानु नै राम्रो हो। तिमी खाजा घरबाट लैजान्छौ भने राम्रो हो। बाहिरै खान्छौ भने त्यसलाई बन्द गर। अनि घरैबाट लग। निरोगी हुने यो नै सरल र उत्तम उपाय हो। साभार: कोपिला
प्रकाशित मिति:
September 27, 2014