रिचार्ज कार्डमा ठगीको खुलासा

जिल्लाका विभिन्न ठाउँमा रहेका रिजार्च कार्ड बिक्री केन्द्रमा तोकिएको मूल्यभन्दा रु १० देखि ३० सम्म नाफा लिएर उपभोक्तालाई दैनिक ठगिरहेको पाइएको छ ।
रु ५० पर्ने नमस्तेको रिचार्ज कार्डलाई रु ५५ देखि ६० सम्म लिएर बिक्री गरिरहेको पाइएको छ भने रु २०० पर्ने स्काइ रिचार्ज कार्डलाई रु २१० देखि २३० सम्म लिने गरेको पाइएको छ ।
यसरी दैनिक एउटा रिचार्ज कार्डबाट रु १० देखि ३० सम्म ठगी गरी बिक्री गर्दा पनि सम्बन्धित निकाय मौन भएर बसेको पाइएको छ ।
दुर्गम क्षेत्रमा रहेका रिचार्ज कार्ड बिक्री पसलमा मात्र होइन सदरमुकामका अधिकांश पसलमा पनि यसरी खुलेयाम ठगी भइरहेको उपभोक्ता बताउँछन् । कतिपय उपभोक्तालाई रिचार्ज कार्डको वास्तविक मूल्य कति हो भनेर जानकारी नै नभएको कारण पनि यसरी ठगी गर्न सजिलो भएको पाइएको छ ।
कतियय त ठगिएको थाहा पाएर पनि रिचार्ज कार्ड किन्नैका लागि सदरमुकाममा जानुभन्दा बढी पैसा तिरेर भएपनि रिचार्ज गर्नुपर्ने बाध्यता भएको डाँडागाउँका रुद्र खत्रीले बताए ।
यता नेपाल टेलिकम जाजरकोट शाखाले भने चर्को शुल्क लिएर उपभोक्तालाई ठगेको जानकारी नभएको बताएको छ । रासस
प्रकाशित मिति:
October 10, 2014