सहमति नभए प्रक्रियाबाट संविधान : उपप्रधानमन्त्री गौतम
काठमाडौँ, २७ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सरकारको प्राथमिकता माघ ८ गतेभित्रै संविधान बनाउने भएकाले सकेसम्म सहमति नभए प्रक्रियाबाट भएपनि निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताएका छन् ।
ज्येष्ठ नागरिक र विपद् जीवनका लागि उत्थानशीलता नारासहित अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गौतमले समयमै संविधान जारी गर्न सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।
उनले नेपाल बाढी पहिरो, भूकम्प, जलवायु परिवर्तनलगायतका जोखिमबाट ग्रस्त रहेको छ भन्दै विपद् व्यवस्थानसम्बन्धी समस्या समाधान गर्दै लान सरकारले नयाँ ऐन ल्याउन लागेको र त्यसको मस्यौदा भइरहेको जानकारी दिए ।
उपप्रधानमन्त्री गौतमले ज्येष्ठ नागरिकको हक अधिकार सुरक्षित गर्दै उनीहरुलाई विपद्का बेला जोगिने उपायका बारेमा सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
गृह सचिव सूर्य सिलवालले नेपालमा बहुप्रकोपको जोखिम रहेको सन्दर्भमा त्यसबाट जोगिने रणनीति तयार गरी अघि बढ्नुपर्ने बताउँदै ज्येष्ठ नागरिककलाई सहयोग, सुविधा र सहानुभूति आवश्यक रहेको औल्याए ।
प्रकाशित मिति:
October 13, 2014