यसरी राखिन्छ हुडहुड, निलम, नानुक जस्ता आँधीको नाम
असोज २७ । हुडहुड नाम दिइएको भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा उत्पन्न आँधीको प्रभाव नेपालको पूर्वी तथा उपत्यकासहित मध्यक्षेत्रमा पनि देखा परेको छ ।
भारतले यस आँधीले ठूलो मात्रामा धनजनको क्षति गरिसकेको छ । आँधीका कारण मंगलबारदेखि बिहीबारसम्म मध्य र पश्चिम तराईमा भारी तथा नियमित वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
तराईमा यतिबेला धान काटेर धन्क्याउने समय भएकाले किसानहरु आँधीको मारमा पर्ने देखिएको छ ।
यसरी गरिन्छ आँधीको नामाकरण
बंगालको खाडीबाट उठेको समुद्री आँधीको नाम 'हुडहुड' राखिनुमा मध्यपूर्वी राष्ट्र ओमानको हात छ। बंगालको खाडीस्थित भारतीय टापु अन्दमान निकोबारको उत्तरबाट उठेको समुद्री आँधीको नाम ओमानमा राखिएको हो। 'हुपु' नामक चरालाई अरबी भाषामा 'हुडहुड' भनिन्छ। यो चरा इजरेलको राष्ट्रिय पन्छी हो।
सन् १९५३ देखि अमेरिकास्थित मयामी नेसनल हरिकेन सेन्टर र वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेसन (डब्ल्युएमओ) दुवैले संयुक्त रूपमा उष्णकटिबन्धीय समुद्री आँधीको नामकरण गर्ने गरेका छन्। स्विट्जरल्यान्डको राजधानी जेनेभास्थित डब्ल्युएमओ संयुक्त राष्ट्रसंघीय निकाय हो। तर, विवादास्पद हुने सम्भावनाका कारण उत्तरी हिन्द महासागरमा आउने समुद्री आँधीको नामकरण गरिँदैनथ्यो।
भारतको समुद्री आँधी चेतावनी केन्द्रका प्रमुख एम माहापात्राका अनुसार यस क्षेत्रमा अत्यधिक जातीय विविधताका कारण समुद्री आँधीको नामकरण गर्न अत्यन्त सावधानी र निष्पक्षता अपनाउनु आवश्यक थियो। आँधी आउने क्षेत्रका सर्वसाधारणको भावनामा ठेस नलागोस् भनेर यसो गरिन्थ्यो।
सन् २००४ मा समुद्री आँधी नामकरण गर्ने डब्ल्युएमओ नेतृत्वको अन्तर्राष्ट्रिय प्यानल भंग भएपछि विश्वभर नै आ–आफ्ना क्षेत्रमा आउने समुद्री आँधीको नाम राख्न त्यसै क्षेत्रका राष्ट्रलाई भन्न थालियो। बंगालको खाडी र हिन्द महासागर क्षेत्रमा आउने आँधीको नामकरण गर्न भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, बर्मा, ओमान, श्रीलंका र थाइल्यान्डसहित ८ राष्ट्रको समूह गठन भयो।
सन् २००४ पछि आउने समुद्री आँधीको नामकरणका लागि आठै राष्ट्र सबैले ८/८ वटा नामको सूची तयार पारे। हरेक राष्ट्रले समुद्री आँधीका लागि ८ वटा नाम सिफारिस गरेका थिए।
राष्ट्रको नामको वर्णानुक्रमानुसार समुद्री आँधीको नामकरण गरिन्छ। हुडहुडभन्दा अघि जुनमा यस क्षेत्रमा आएको अन्तिम समुद्री आँधी 'नानुक' थियो। त्यो नाम बर्माले राखेको थियो।
सदस्य राष्ट्रका सर्वसाधारणले पनि आँधीको नाम सिफारिस गर्न सक्छन्। जस्तै कुनै पनि राष्ट्रको सरकारले सांस्कृतिक रूपमा संवेदनशील र उत्तेजक नहुने गरी छोटा, सजिला र बुझिने नाम सुझाउन देशवासीसँग आग्रह गर्नसक्छ। वर्णानुक्रमअनुसार यसपल्ट आँधीको नामकरण गर्ने पालो ओमानको थियो।
थाइल्यान्डले गत वर्ष दक्षिणपूर्वी भारतमा आएको समुद्री आँधीको नाम 'फाइलिन' राखेको थियो। भारतले भने आँधीका लागि मेघ, सागर र वायुजस्ता नाम सिफारिस गरेको खबर नागरिक दैनिकमा छ ।
'हुडहुड' पछि आउने समुद्री आँधीको नामकरण 'निलोफर' गरिनेछ। अब आउने आँधीको नाम राख्ने पालो पाकिस्तानको भएकाले उसले सिफारिस गरेको नाम 'निलोफर' हो। यसअघि आफ्नो पालोमा आएको समुद्री आँधीको नाम पाकिस्तानले 'निलम' राखेको थियो।
६४ नामको सूचीमा 'हुडहुड' सम्भवतः ३४ औं नाम हो। हुडहुडपछि आउने आँधीको नामकरणका लागि तयार सूचीमा अझै ३० नाम बाँकी छन्। समुद्री आँधी विशेषज्ञको प्यानलले बर्सेनि भेला भएर आवश्यकताअनुसार सूची तयार गर्ने गर्छ।
प्रकाशित मिति:
October 13, 2014