कांग्रेस नेता देउवाले भने- 'माघ ८ मा संविधान जारी हुँदैन'
असोज २८ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ८ गतेभित्र नयाँ संविधान जारी नहुने बताएका छन् ।
जनकपुरमा आयोजिक पत्रकार सम्मेलनमा देउवाले नयाँ संविधान तोकिएको समयभन्दा पछि आउने बताएका छन् ।
उनले असन्तुष्ट पक्ष जनजाति, मधेसी र माओवादीलाई विश्वासमा लिएरै संविधान जारी हुने विश्वास व्यक्त गरे ।
एक प्रश्नको जवाफमा उनले राज्य पुनःसंरचनाको लागि नेपाली काँग्रेसबाट आएको दुई प्रस्ताव काँग्रेसको अधिकारिक प्रस्ताव भएको र त्यो उचित रहेको तर्क गरेका छन् ।
सरकार परिवर्तनबारे सोधिएको एक प्रश्नमा नेता देउवाले कुनै पनि हालतमा सरकार परिवर्तन नहुने धारणा राखे ।
हिन्दूराष्ट्रबारे सोधिएको एक प्रश्नमा उनले कुनै पनि राज्यको कुनै धर्म नहुने भएकाले हिन्दूराज्यको पक्षमा वकालत गर्नु गलत भएको बताए ।
प्रकाशित मिति:
October 14, 2014