कांग्रेस र एमालेको भागबन्डा नमिल्दा एनटिभीमा रणसंग्राम
पुस । व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिले नेपाल टेलिभिजनमा प्रशिक्षार्थी र कर्मचारी नियुक्त गर्दा लोकसेवा आयोगको ढाँचामा लिखित परिक्षा लिन निर्देशन दिएको छ ।
समितिले सोमबार नेपाल टेलिभिजनका अध्यक्ष निर शाह र महाप्रवन्धक लक्ष्मण हुँमागाँईसँग छलफल गरी मौखिक र प्रयोगात्मक परिक्षामा अपारदर्शीता हुने भएकाले लिखित, मौखिक र प्रयोगात्मक परिक्षा लिन निर्देशन दिएको हो ।
टेलिजिभनले भने यसअघि नै अन्तरवार्ताको मिति सार्वजनिक गरिसकेको छ । संसद अन्तर्गतको समितिले यस्तो निर्देशन दिएपछि अन्तरवार्ता हुने नहुनेबारे भने अहिलेसम्म केही खुलाइएको छैन ।
भागबन्डाको राजनीति नमिल्दा किचलो:
टेलिभिजनमा कर्मचारी छनोटका विषयमा चरम राजनीतिक भागबन्डा भएको र कुरा नमिलेको अवस्थामा उजुरी परेको खुल्न आएको छ ।
राजनीतिक रुपमा भागबन्डा मिलाउने र लिखित परीक्षा नै नलिई आफू निकटस्थलाई जागिर खुवाउने योजना अन्तर्गत प्रक्रिया अघि बढीरहँदा अख्तियारका साथै संसदमा समेत यो विषय पुगेपछि भने प्रक्रिया नै उल्टने देखिएको छ ।
वर्तमान अवस्थामा सञ्चारमन्त्री नेपाली कांग्रेसको भागमा रहेकाले कांग्रेसले १० जना रिपोर्टर मध्ये ५ जना आफूलाई ३ जना एमालेलाई र अन्य २ जना अन्य दललाई दिने साथै अन्य पदमा पनि यही तरिकाले मिलाउने भन्ने विषयमा कुरा नमिलेको हो ।
एमाले निकट चौतारीले सत्ता साझेदार दल भएकाले कांग्रेसले पाउने जति नै कोटा आफूलाई पनि हुनुपर्ने माग राखेपछि कुरा नमिलेको स्रोतले दाबी गरेको छ ।
एमालेलाई कांग्रेसले बराबरी कोटा दिन नसक्ने भएपछि टेलिभिजनमा कार्यरत एमाले निकट चौतारीले नियुक्ति प्रकृया नियमावली, विधि र प्रकृया विपरित भएको र समावेशी पनि नभएको भन्दै बिरोध गर्दै सुशासन समितिमा उजुरी गरेका थिए ।
त्यसपछि समितिले सोमबार लिखित, मौखिक र प्रयोगात्मक परिक्षा लिन निर्देशन दिएको हो ।
टेलिभिजनले रिपोर्टर, क्यामेरामेन, ध्वनि नियन्त्रक, दृश्य सम्पादक गरी २२ जनाको जागिर खुलाएको थियो ।
प्रकाशित मिति:
January 12, 2015