माओवादी पोलिटब्यूरो बैठक सुरु, कम्युनिष्ट एकता केन्द्र निर्माणमा जोड
वैशाख ३ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी कार्यालय बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पार्टीको नयाँ रणनीति, पार्टी एकता, मेची महाकाली अभियानको समिक्षा लगायतका एजेण्डामा छलफल भईरहेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बिहीबारको बैठकमा पार्टी अध्यक्ष, महासचिवसहित पाँच जनाले आफ्नो धारणा राखेका छन् । बैठकमा सिद्धान्तका आधारमा निकटका शक्तिहरुबीच कम्युनिष्ट एकता केन्द्र निर्माण गर्ने विषयलाई महत्वका साथ उठाइएको छ । यस्तै, परी थापा लगायतका माओवादी र एमाओवादीसँगको पार्टी एकीकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा सहभागी एक पोलिटब्यूरो सदस्यका अनुसार माओवादी आन्दोलनलाई नै समाप्त पार्ने गरी चलखेल भएको भन्दै एक कदम पछि हटेर भएपनि दुई कदम अगाडी बढ्न कम्युनिष्ट एकता केन्द्र निर्माणमा पार्टीले विशेष पहल कदमी गर्नुपर्नेमा जोड दिइएको छ ।
माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्क्तिको पनि विरोध गरेको छ । प्रवक्ता भुसालले नेपालमा आउँदा गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने अनि अन्यत्र जाँदा भारतमा जन्मिएका हुन् भनेर भन्नुले पुरानै चरित्र दोहोर्याएको देखिएको बताइन् । उनले भनिन्, “यो झुटो कुरा हो, यस अभिव्यक्तिबाट हाम्रो पार्टी गम्भीर भएको छ, यसको हामी विरोध गर्छौ ।” भारतीय प्रधानमन्त्री मोदीले केही दिन अगाडी जर्मन भ्रमणको क्रममा गौतम बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । तर, केही महिना अगाडी नेपाल आउँदा भने उनले संविधासनभा भवन बानेश्वरमा व्यवस्थापिका संसदको बैठकमा नै गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेका थिए ।
प्रकाशित मिति:
April 16, 2015