विभाजनको संघारमा ३० दलीय मोर्चा
चैत्र २५ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको ३० दलिय मोर्चाभित्र खटपट बढेर गएको छ । पछिल्लो खटपटसँगै मोर्चा फुटको मुखसम्म पुगेको छ ।
मोर्चा फुट केन्द्रित बनेसँगै एमाओवादी संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले मोर्चाबाट कोही अलग्गिए फरक नपर्ने चेतावनी समेत दिएका छन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले एमाओवादी, अन्य ५ माओवादी घटकसँग नजिकिएसँगै मोर्चामा खटपट बढेको थियो । त्यसैमा मोर्चाले आह्वान गरेको तीन दिने आमहडताल एक दिनको बन्दसँगै फिर्ता लिएपछि मोर्चामा खटपट झनै बढेको हो ।
सदभावना पार्टी, मधेसी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी लगायत अन्य साना जातीवादी पार्टीहरु आमहडताल फिर्ता लिने पक्षमा नभए पनि एमाओवादी अध्यक्ष दाहाल र मधेसी जनअधिकार लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको जोडबलमा बन्द फिर्ता भएको थियो । यसमा मोर्चाका अन्य साना दलले विरोध जनाएका छन् ।
विरोधले मोर्चामा विभाजन हुनेसम्मको स्थिति पैदा गरिदिएको छ । जातीय तथा मधेसी दलहरुले एमाओवादीले मधेसको मुद्धा नै नचाहेको आरोप लगाएका छन् । यस्तै जातीय पार्टीहरुले पनि एमाओवादीले जातीय आधारमा संघीयता नचाहेको आरोप लगाएका छन् ।
एमाओवादीले भने यसको कडा प्रतिक्रिया दिएको छ । एमाओवादी संसदीय दलका उपनेता रायमाझीले मोर्चाबाट कोही अलग भएर पनि कुनै असर नपर्ने चेतावनी दिँदै मोर्चामा मनमुटाव हुनु सामान्य रहेको बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले फुट्ने जुट्ने काम भईरहने भन्दै कसैको ठेक्का लिन नसकिने समेत जनाए । कुरा मिल्दासम्म एकै ठाउँमा बस्ने र नमिले अलग हुने उनको भनाई छ ।
प्रकाशित मिति:
April 08, 2015