राहतमा स्थानीयको उत्कृष्ट नमूना 'अन्डर रुल प्रणाली'
जेठ ९ । राहत वितरणमा विभिन्न समस्याहरु आईरहेका बेला सिन्धुपाल्चोकको एक गाविसमा भने समानुपातिक र व्यवस्थित वितरणका लागि स्थानीय स्तरमा नै अन्डर रुल प्रणाली अपनाइएको छ ।
सिन्धुपाल्चोकको सागाचोक गाविसमा विभिन्न राजनीतिक पार्टी मिलेर राहत वितरणलाई सहज पार्न व्यवस्थित योजनाका साथ वितरण कार्य गरिएको छ । गाविसका टोलहरुमा राहत संकलनका लागि स्टोररुम खडा गरिएको छ । कसैले राहत सामग्री हस्तान्तरण गरेमा रजिस्टर गरी स्टोरमा जम्मा गरिन्छ । वितरण गर्ने समयमा भने पीडितहरुलाई दामासायी जति पर्छ भाग लगाएर बाड्ने गरेको पाइएको छ ।
‘हामी सबै राजनीतिक दलले जसका तर्फबाट सहयोग आएपनि स्टोरमा नै जम्मा गर्ने गरेका छौं’ नेकपा माओवादी स्थानीय नेता अनिश योन्जनले भने, ‘एक एक मुठी नै भएपनि सबैलाई बाड्ने गरेका छौं यसो गर्दा अहिलेसम्म यहाँ कुनै विवाद पनि देखिएको छैन ।’
अन्य विभिन्न ठाउँमा राजनीतिक दलले आफू निकटस्थलाई मात्रै राहत बाँडेको आरोप लागिरहेको अवस्थामा सागाचोक गाविसमा भने अन्डर रुल प्रणालीले अझै व्यवस्थित बनाएको पाइएको छ । जुन राजनीतिक दलका तर्फबाट राहत संकलन भएपनि स्टोरमा जम्मा गरेर समानुपातिक तवरले नै बाड्ने गरेका छन् । अझ, स्टोरमा कुन राजनीतिक दलको तर्फबाट कसले बढी राहत सामग्री संकलन गर्ने भन्ने होडबाजीले पीडितहरुलाई भने फाइदा पुगेको छ । यद्यपी सागाचोकमा सरकारी तर्फबाट भने आवश्यक त्रिपाल तथा राहत पुग्न नसकेको त्यस क्षेत्रका स्थानीय बताउँछन् ।
गाविसमा कुनै संस्था तथा व्यक्तिले कुनै निश्चित ठाउँमा राहत बाड्छु भने पनि त्यसको समेत व्यवस्था गरिएको छ । कुन ठाउँमा राहत बाड्न चाहेको सोबारे सबैभन्दा पहिले रजिस्टर भने गर्नुपर्ने छ । त्यसपछि भने सम्बन्धित पक्षले बाड्न चाहेको ठाउँमा राहत बाड्न सक्नेछन् । रजिस्टर नै नगरी राहत वितरण गरिएको पाइएमा त्यसलाई कब्जामा लिएर स्टोरमा जम्मा गर्ने गरेको पनि योन्जनले जानकारी दिए ।
सागाचोकबासी अहिले भने घर टहरा निर्माणमा जुटेका छन् । केही ठाउँमा विभिन्न संघ संस्थाको सहयोगमा पनि टहरा बनाउने कार्य भईरहेको छ भने आफ्नै पहलमा पनि टहरा बनाउन स्थानीय जुटेका छन् । सरकारले जस्तापाताका लागि भनेर दिने भनेको १५ हजार चाँडै उपलब्ध गराईदिन पुनः निर्माणमा सहयोग गरिदिन आग्रह पनि गरेका छन् ।
प्रकाशित मिति:
May 23, 2015