पालका कारण पत्रकार महासंघ काठमाडौं शाखामा बबण्डर
३० वैशाख । पाल वितरणको विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा बबण्डर मच्चिएको छ । पदाधिकारीहरुले आफूखुसी पाल वितरण गरेपछि त्यहाँ विवादले उग्र रुपमा लिएको छ ।
शाखाका अध्यक्ष गोविन्द चौलागाईले आफ्ना मान्छेलाई मात्रै पाल वितरण गरेको आरोप लागेको छ । बुधबार शाखा कार्यालय भृकुटी मण्डप पुग्दा कोषाध्यक्ष सिपा पोखरेलले पाल वितरण गरिहेको पाइएको थियो । शाखा सदस्य कालिकालाई तपाईलाई भोट चाहिदैन कालिका जी भन्दै कोषाध्यक्ष पोखरेललाई रातो रंगको पाल वितरण गरिरहेकी थिइन् । उनले पाल वितरण गरिहेको पाइए पनि कसलाई कति दिइयो भनेर रेकर्ड राखेको भने पाइएन ।
केही छिनमा त्यहाँ पाल लिन पुगेका अन्य सदस्यहरुलाई भने पाल सकिएको भन्दै रित्तै फर्काइएको पाइयो । थानकोटबाट आएका प्रकाश गोपालीले पहिलो नम्बरमा आफ्नो नाम हुँदा पनि पाल नदिइएको गुनासो गरे ।
पाल वितरणमा मनपरी भएको भन्दै शाखाका सचिव रामकृष्ण अधिकारीले सो कामबाट नै हात झिकेको बताए । 'मैले एउटा सिस्टम बसाएर सबैभन्दा पीडित को हो छुट्याएर त्यसका आधारमा पाल वितरण गरौं भनेको हो 'उनले हेलोखबरसँग भने, 'उहाँहरुले मनपरी बाड्न थाल्नुभयो त्यसैले मैले त्यहाँबाट हात झिकेको छु ।'
काठमाडौं शाखालाई पत्रकार महासंघ केन्द्रबाट ५० थान र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७० थान पाल उपलब्ध भएको थियो । जसमा १ सय २२ जना काठमाडौं शाखामा आवद्ध भूकम्प पीडित पत्रककारले नाम टिपाएका थिए । सो पाल वितरणमा मनपरीसँगै विवाद बढेको हो ।
प्रकाशित मिति:
May 13, 2015