सुकेकोटको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने
वैशाख ३१ । हालैको विनाशकारी भूकम्पले पूर्ण रुपले क्षति भएको पाल्पास्थित सहलकोट गाविसको सुकेकोटको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।
लगातार भूकम्पको पराकम्पनका कारण जमिनमा धाँजा फाटेपछि सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हो । पहिलो र दोस्रो भूकम्पबाट विपत्तिको सामाना गरेका सहलकोटवासीलाई तेस्रोपटकको विनाशकारी भूकम्पले जमिन नै फाट्ने गरी क्षति पु¥याएपछि ५५ घरपरिवार पूर्णरुपले गाउँबाटै विस्थापित हुने भएको छ ।
“भूकम्पबाट घर भत्कियो, दुःखसुख गरी सानोतिनो ओत लाग्ने ठाउँ बनाएर जीविकोपार्जन गरौँला भन्ने सोच थियो तर तेस्रोपटकको प्रकम्पनले घर नजिकैको जमिन पनि चर्कियो, अब कहाँ जाने हो”– तिलबहादुर रानाले भने । घर बनाउन नसकेको अवस्थामा विपत्ति प¥यो, घर बनाउन पनि जग्गा नै छैन् कहाँ जाने स्थानीय अर्का खुमबहादुर रानाले पनि दुःखेसो गरे ।
दैवी विपत्ति कतिबेला आउँछ त्यो कसैलाई थाहा नहुँदो रहेछ, पहिले त घरमा मात्र क्षति पुगेको थियो पछि आएको प्रकम्पनले झन् जमिन नै धाँजा फाट्न थालेपछि कहाँ गएर ज्यान बचाउने भन्ने तिन्ताले सताएको यमबहादुर रानाले गुनासो गरे ।
गत वैशाख १२ र १३ गतेको भूकम्पले सुकेकोटका ५५ घरमध्ये २६ घर पूर्ण रुपमा र बाँकी घर चर्किएर ठूलो क्षति पुगेको थियो भने पछि गएको अर्को विनाशकारी प्रकम्पनले चर्केका घरमा पूरै क्षति पुगेपछि यस क्षेत्रका बासिन्दा कहाँ गएर दिनरात बिताउने हो भन्ने चिन्तामा डुबेका छन् ।
यस्ता बस्ती जिल्लामा धेरै स्थानमा छन् । कसेनी गाविसको सरापकोट, कोलडाँडाको सत्यवती, हुमिनको लोरेन्जस्ता बस्तीहरु उच्च जोखिममा रहेका छन् ।
विशेषगरी पाल्पामा चुरे आसपासका क्षेत्रमा यस्ता समस्या देखिएका छन् । पाल्पाको कुल भू–भागमध्ये १८ प्रतिशत भू–भाग चुरे क्षेत्रमा पर्दछ । चुरे क्षेत्र आसपासका बस्ती उच्च जोखिममा छन् । रासस
प्रकाशित मिति:
May 14, 2015