घरबेटीले मिनाहा गरिदिए वैशाख महिनाको कोठाभाडा
वैशाख ३१ । राजधानीको एक घरबेटीले महाभूकम्पका कारण देश नै संकटमा परेको भन्दै घरबहालमा बस्ने सबै जनाको एक महिनाको घरभाडा मिनाहा गरिदिएका छन् ।
कोटेश्वरका घरबेटी पुण्य विक्रम खड्काले आफ्नो घरभाडामा बस्ने तीन परिवारको वैशाख महिनाको कोठाभाडा मिनाहा गरिदिएका हुन् । घरबेटी खड्काले इस्यू बनाउन नचाहेको भन्दै मानवताको हिसाबले सबैतिर अवस्था नाजुक रहेकाले एक महिनाको भाडा मिनाहा गरिदिएको बताए । 'देश नै संकटमा छ, सबैलाई समस्या परेको छ', उनले फोनमा भने- 'यस्तो बेला घरमा बस्ने पनि परिवारसरह नै हुन् जस्तो लाग्यो त्यसैले वैशाख महिनाको भाडा तिनुपर्दैन भनेको छु ।'
भूकम्पका कारण सबै जना बाहिर बाहिरै बसेको, अफिस पनि जान नसकेकाले अरुको समस्या देखेर मात्रै यसो गरेको हुँ, यसलाई इस्यू बनाउन चाहेको हैन उनले भने ।
घरभाडामा बस्दै आएकी बिनु पोखरेलले कोठाभाडा मिनाहापछि सामाजिकक सञ्जाल फेसबुकमार्फत खुसी बाँडेकी छिन् । 'हाम्रो घरबेटीले हामी भाडामा बस्ने सबैको वैशाख महिनाको भाडा मिनाहा गरिदिनुभयो उनले फेसबुकमा लेखेकी छिन् म यो सन्देश सबै घरबेटीहरुसम्म पुर्याउन चाहन्छु ।'
पोखरेलले संकटका बेला सबैले एक अर्कालाई सहयोग गनुपर्ने पनि बताइन् । 'हाम्रो घरबेटीले भूकम्प आयो सबैलाई समस्या छ, तिमारुलाई पनि समस्या होला वैशाख महिनाको भाडा तिर्नु पर्दैन भन्नुभयो' उनले टेलिफोनमा भनिन्, 'यस्तो संकटको बेला सबैले सबैलाई सहयोग गर्नु धेरै राम्रो कुरा हो ।'
सरकारी कर्मचारी समेत रहेका खड्काको घरमा तीन परिवार बस्दै आएका छन् । तिनै परिवारलाई उनले भाडा मिनाहा गरिदिएका हुन् । सो टोलमा अन्य घरबेटीले पनि घरभाडा मिनाहा गर्न थालेका छन् ।
प्रकाशित मिति:
May 14, 2015