जस्तापाता प्रकरणमा मुछिएका अर्थमन्त्रीका स्वकीय सचिवको राजीनामा
काठमाडौँ, १८ जेठ । राहतको जस्तापाता बेच्न खोजेको आरोप लागेका अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएका छन् ।
नेपाली काँग्रेस नुवाकोटका सचिवसमेत रहेका महतमाथि इन्भेस्टमेन्ट बैंकले भूकम्पबाट प्रभावित विद्यालयलाई राहत स्वरुप जस्तापाता उपलब्ध गराएकामा विवाद भएपछि महतले छानबिन कार्यलाई सहज बनाउन भन्दै राजीनामा दिएका हुन् ।
“मेरो राजनीतिक व्यक्तित्व र अर्थमन्त्रीको छविमा समेत आँच पु¥याउने गरी म माथि एकोहोरो आरोप लगाइयो, छानबिनलाई सहज बनाउन राजीनामा दिएको हुँ, दोषी देखिएमा म जस्तोसुकै कारबाही भोग्न तयार छु तर आरोप लगाउने नै दोषी भएमा पनि उनीहरु कारबाहीको भागिदार बन्नुपर्छ,” महतले भने ।
नुवाकोटका छ गाविसका विद्यालय बनाउन जस्तापाता वितरण गर्ने कार्यक्रम थियो । घटनाको यथार्थ छानबिन प्रक्रियालाई सहज बनाउन भन्दै महतले पार्टी सभापति सुशील कोइरालालाई समेत निवेदन दिएका छन् ।
प्रकाशित मिति:
June 01, 2015