संसदीय अनुगमन टोलीले भेट्यो किरा परेको दाल
नेपालगन्ज, ६ असार । बाँके जिल्लाको खजुरास्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को गोदाममा ठूलो परिमाणमा भण्डारण गरिएको कुहिएको दाल फेला परेको छ ।
संसदीय टोलीले आज सो गोदामको अनुगमन गर्दा भण्डारण गरेर राखिएको अवस्थामा ५१४ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा भेटिएको हो ।
टोली संयोजक सभासद् सञ्जय गौतमका अनुसार, दालमा किरा परेको, कुहिएको र खानै नमिल्ने अवस्थामा रहेको पाइएको छ ।
नेपालमा विपत् परेका बेला विभिन्न क्षेत्रमा वितरण गर्न भन्दै डब्लुएफपीले खजुराको कपास विकास समितिको गोदाममा दाल भण्डारण गरेर राखेको थियो ।
सो दाल टर्कीबाट खरिद गरेर भारतीय ठेकेदारमार्फत नेपाल ल्याइएको थियो । संसदीय टोलीको अनुगमनपछि डब्लुएफपीको कार्यालयले दाल खान योग्य नभएकाले फिर्ता पठाउन लागिएको जनाएको छ ।
संयोजक सभासद् गौतमले नेतृत्व गर्नुभएको संसदीय अनुगमन टोलीमा सभासद् दलबहादुर सुनार, श्रीप्रसाद जबेगु, खाद्यविज्ञ सुमन धिताल र संसद् सचिवालयका कर्मचारी सहजीत राई छन् ।
यसअघि गोरखामा गरिएको अनुगमनमा पनि विश्व खाद्य कार्यक्रमको चामल कुहिएको अवस्थामा फेला परेको थियो ।
प्रकाशित मिति:
June 21, 2015