पिआर, डिभी, ग्रिनकार्ड लिएका हजार बढी कर्मचारीले दिए राजीनामा
काठमाडौं ३१ असार । विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् ।
बर्खास्त गर्ने कानुन ल्याउने तयारी भईरहेकै समयमा उनीहरूले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
डिभी–पिआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानुनी व्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भयले ती कर्मचारीले राजीनामा दिएको मन्त्री पण्डितले बताए ।
उनले भने, ‘डिभी, पिआर भएका सयौँ कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजीनामा दिएको पाइएको छ ।’
सामान्य प्रशासन मन्त्रालयको अध्ययनअनुसार डिभी र पिआर लिएका कर्मचारीको संख्या अझै एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म छ । निजामती सेवा ऐनको चौथो संशोधनमा डिभी–पिआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान छ । तर, ऐनअनुसार कर्मचारीलाई जागिर वा डिभी–पिआर कुन त्याग्ने भन्ने निर्णय गर्न ६० दिनको समय दिइएको छ ।
कानुन बनेपछि तत्काल बर्खास्तमा पर्ने र पेन्सनलगायतका सुविधा पनि खोसिने भयले धेरै कर्मचारीले यसअघि नै राजीनामा दिएको मन्त्रालयले जनाएको खबर नयाँ पत्रिकाले छापेको छ ।
संशोधित निजामती ऐनअनुसार कर्मचारीले ६० दिनभित्र डिभी–पिआरको जानकारी गराएर जागिर त्यागेमा उनीहरूले पाउने बिमा, सञ्चय कोष तथा पेन्सनलगायतका सबै सुविधा पाउनेछन् ।
प्रकाशित मिति:
July 16, 2015