राहदानी लिन ‘प्रत्यक्ष दर्ता प्रणाली’ आरम्भ
मङ्सिर । परराष्ट्र मन्त्रालयले राहदानी वितरण प्रणालीलाई सहज र द्रूत बनाउन आजदेखि ‘प्रत्यक्ष दर्ता प्रणाली’ (लाइभ इन्रोलमेन्ट सिस्टम) आरम्भ गरेको छ ।
यो प्रणाली सुरु भएपछि राहदानी लिन हातले फाराम भर्नुपर्दैन । साथै राहदानी वाहकको तस्बिर, औंठा छाप र हस्ताक्षर राहदानी लिने स्थानमा कम्प्युटरबाट फाराममा भरिन्छ । राहदानीमा यो प्रणाली लागू भएपछि व्यक्तिको सबै विवरण ‘बायोमेट्रिक’मा रहने र सबै काम ‘डिजिटलाइज्ड’ हुने मन्त्रालयले जनाएको छ ।
नयाँ प्रविधि भएकाले सुरुमा पहिलो चरणमा मङ्गलबारदेखि कूटनीतिक अधिकारी तथा विशिष्ट पदाधिकारीलाई सो प्रणालीमार्फत कूटनीतिक राहदानी उपलब्ध गराइने राहदानी विभागले जनाएको छ । अबको दुई सातापछि सर्वसाधारणलाई विभागबाट र विदेशस्थित नियोगबाट समेत सो प्रविधिबाट राहदानी प्रदान गरिने छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा सो प्रणालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री कमल थापाले उक्त प्रणाली लागू भएपछि राहदानी लिन सर्वसाधारणलाई सहजता र तीव्रता हुने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्री थापाले सो प्रणाली लागू भएपछि विदेशमा रहेका हस्तलिखितवाहक नेपाली नागरिकलाई यन्त्रले पढ्न सकिने राहदानी (एमआरपी) लिन सहज हुने बताए ।
प्रकाशित मिति:
November 23, 2015