लोडसेडिङ अन्त्य र विद्युत चोरी नियन्त्रण- एकैचोटी २५ सय कर्मचारीको सरूवा
काठमाडौं १३ माघ । मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढदो चुहावट घटाउन विद्युत प्राधिकरणले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ। कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो।
विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकसितको मिलोमतो हुनसक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो। प्राधिकरणको विद्युत चुहावट २५ प्रतिशत हाराहारीमा छ। नयाँ ठाउँमा सरुवा भएर जाँदा कर्मचारीको पुरानो नेक्सस टुट्ने र नयाँ ठाउँका बढी बिजुली खपत गर्ने ठूला ग्राहकसित ‘नाजायज सम्बन्ध’ बनाउन समय लाग्ने भएकाले चुहावट घट्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए।
ती अधिकारीका अनुसार सरुवा भएकामा २२ वर्षदेखि एकै ठाउँमा रहेका कर्मचारीसमेत छन्। सरुवाका साथै वितरण केन्द्रका कर्मचारीको ठूला ग्राहकसितको मिलोमतो र विद्युत चोरीबारे छानबिन गर्ने तयारी पनि प्राधिकरणले गरेको छ। राजधानीमा ठूला ग्राहकसित प्राधिकरणकै पूर्व र बहालवाला कर्मचारी मिलेर ठूलोमात्रामा विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले कारबाही अघि बढाएको छ। महाशाखाले प्राधिकरणका बहालवाला ११, १ पूर्व कर्मचारीसहित चार व्यापारीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ।
प्राधिकरणका कर्मचारी संघ/संगठनहरूले पक्राउ परेका कर्मचारीहरूलाई कारबाहीबाट उन्मुक्ति दिन ऊर्जा मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङलाई चर्को दबाब दिंदै आएको दाबीसमेत स्रोतको छ। स्रोतका अनुसार अरू वितरण केन्द्रमा समेत राजधानीमा जस्तै ठूला ग्राहकसित मिलेर विद्युत चोरी भइरहेको आशंकामा ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको हो। -कान्तिपुरबाट
प्रकाशित मिति:
January 26, 2017