स्थानीय तहसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा, पास भएसँगै सबै गाविस हट्ने
काठमाडौं, १३ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा लैजान प्रस्ताव दर्ता गराएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोसम्बन्धी प्रस्ताव दर्ता गरिएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताए । प्रतिवेदन पास भएसँगै अब सबै वडा, गाउँ तथा गाविस गाउँपालिकाका परिणत हुनेछ । तर कहिले पास हुने भन्ने टुंगो लागेको छैन । कतिपय ठाउँमा अहिलेको प्रस्तावकै विरोधमा आन्दोलन समेत भईरहेको छ ।
स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले गत पुस २२ गते सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेमार्फत ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
आयोगले बुझाएको उक्त प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका र ४६२ गाउँपालिका गरी ७१९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको सङ्ख्या कुल छ हजार ५५३ रहेको छ ।
सरकारले २०७२ चैत १ गते बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोग गठन गरेको थियो ।
प्रकाशित मिति:
January 27, 2017