सरकारको ६ महिनाः २४ घण्टै उज्यालो उपत्यका
काठमाडौं २० माघ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भएको छ । १९ साउनमा पूर्व प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदमा राजीनामा दिएपछि सोही दिन नयाँ प्रधानमन्त्री चयनका लागि भएको प्रधानमन्त्री पदको निर्वाचनमा कांग्रेस, राप्रपा र मधेसी मोर्चाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
सरकार गठन भएको ६ महिनामा वर्तमान सरकारले राजनीतिक गतिरोध तोडेर मुलुकलाई अघि बढाउन प्रयास गरे पनि राष्ट्रिय मुद्धामा प्रमुख दलहरुबिच सहमति र सहकार्य जुटेको छैन । तर वर्तमान सरकारले विकास निर्माणको क्षेत्रमा भने केही खुड्किला सफलता पाएको छ । उपत्यकासहित विभिन्न जिल्लामा २४ सैं घण्टा बिजुली दिन सफल बन्नु यो सरकारको सबैभन्दा महत्वपूर्ण सफलता बनेको छ ।
गत वर्षहरुमा उपत्यकामा १८ घण्टासम्म लोडसेडिङ हुने गरेकोमा यो वर्ष बत्ति गएको छैन । सरकारले प्राधिकरणमा कुलमानसिंह घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेपछि देशलाई नै लोडसेडिङ मुक्त अभियानको कार्य अघि बढीरहेको छ ।
प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय गौरवका कामको अनुगमन तथा चासो देखाएर विकासको योजनालाई समेत अगाडी बढाउन तिब्रता देखाएको पाइएको छ ।
वर्तमान सरकारले निर्वाचन मिति घोषणा गर्न अहिलेसम्म नसके पनि केही निर्वाचन कानुन संसदबाट पारित गराएको छ भने अन्य पारित गराउने पक्षमा रहेको छ । कानुनमन्त्री अजय शंकर नायकले अब चाँडै नै निर्वाचन मिति पनि सबैको सहमतिमा घोषणा गरिने बताए ।
सरकारले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीको जिवन बिमा शुल्क समेत बढाएको छ । यस्तै, अति घातक १५ रोगको निशुल्क उपचार राज्यले बेहोर्ने र भारतमा कामको सिलसिलामा जानेलाई पनि वैदेशिक रोजगारको हैसियत दिएको छ ।
सरकारले गठन भएको सय दिनभित्र सातै प्रदेशमा उच्च अदालत गठन गरेको थियो । सरकार गठन भएपछि द्वन्द्वपीडितलाई ३२ करोड ७६ लाख, भूकम्पपीडितलाई पहिलो र दोस्तो किस्ताको रकम समेत उपलब्ध गराएको छ । शिक्षामन्त्री धनीराम पौडेलले भूकम्प पीडितलाई पहिलो चरणको राहत वितरणसँगै दोस्रो चरणको राहत वितरण कार्य अगाडी बढाइएको बताए ।
सरकारले २०१८ को मार्चमा जनतालाई पेन्सन दिने गरी गृहकार्य समेत अगाडी बढाएको छ । सरकारले १० हजार किसानलाई कर्जा, ४० हजार पशुबिमाको कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुरु गर्नुका साथै स्वास्थ्य सेवा १० देखि ४ बजेसम्म सबै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर अनिवार्य बस्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।
प्रकाशित मिति:
February 02, 2017