काठमाडाैं २८ चैत । कमल थापालाई दोस्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन्। प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिनुभएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि ‘पद नछाड्ने तर मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने' रणनीति अपनाउन लागेका हुन्। ‘गृहमन्त्रीज्यू अबदेखि मन्त्रिपरिषद् बैठकमा जानुहुन्न', निधि निकट स्रोतले भन्यो, ‘उनले आफूसम्बद्ध मन्त्रालयका एजेन्डा प्रधानमन्त्रीसँग छुट्टै छलफल गर्नुहुन्छ र प्रधानमन्त्रीमार्फत पठाउनुहुन्छ।'
थापालाई मन्त्रिपरिषद्मा दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रिपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो। ‘संसद्को पहिलो पार्टी कांग्रेसले मन्त्रिपरिषद्मा दोस्रो वरीयता पनि नपाउने भएपछि गृहमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा तेस्रो वरीयता स्वीकार गरेर बस्न मान्नुहुन्न', स्रोतले भन्यो, ‘उहाँले यसलाई प्रतिष्ठाको विषय बनाइसक्नुभएको छ ।' कांग्रेसका मन्त्रीले पनि गृहमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने कुराको पुष्टि गरेका छन् ।
‘उहाँ (निधि) ले म मन्त्रिपरिषद् बैठकमा जान्नँ, मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्रीसँग छुट्टै छलफल गरी आफ्ना एजेन्डा मन्त्रिपरिषद्मा पठाउँछु, प्रधानमन्त्रीज्यूले गरेको वरीयताको निर्णय स्वीकार गर्न सक्दिनँ भन्नुभएको छ', कांग्रेसका अर्का एक मन्त्रीले जानकारी दिँदै भने । निधिले आवश्यक परेको बेला मन्त्रीहरूसँग छलफल, समन्वय गरी आफ्ना एजेन्डा राख्ने तर मन्त्रिपरिषद् बैठकमा भने सहभागी नहुने अडान लिइसकेको कांग्रेसका ती मन्त्रीले जानकारी दिए । उपप्रधानमन्त्रीद्वय थापा र निधिबीचको वरीयता विवादले मन्त्रिपरिषद् बैठक झन्डै एक महिनादेखि बस्न सकेको छैन भने यही विवादका कारण प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिएका थिएनन्। प्रधानमन्त्री दाहाल चीनबाट फर्कंदा विमानस्थलमा स्वागत गर्ने क्रममा पनि मन्त्री निधिले वरीयताकै कारण असहज व्यवहार प्रदर्शन गरेका थिए। स्थानीय तह निर्वाचनको तयारी, सुरक्षालगायतका विषयमा कुराकानी गर्नुपर्ने बेला गृहमन्त्री नै मन्त्रिपरिषद्मा अनुपस्थित हुने निर्णयले सरकारलाई एकीकृत धारणा बनाउन गाह्रो पर्ने कांग्रेसका ती मन्त्रीले बताए । ‘निर्वाचनका बेला मन्त्रीहरूबीचको यस्तो कामले सरकारलाई गाह्रो परिहाल्छ', कांग्रेसका अर्का मन्त्रीले भने ।
गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले पार्टी सभापति देउवाको निर्देशनपछि निधिले पदबाट राजीनामा नदिने निर्णय गरेको बताए। ‘उहाँ (निधि) राजीनामा दिने मुडमा हुनुहुन्थ्यो तर पार्टी सभापतिले निर्वाचनका बेला पद छाड्दा नराम्रो सन्देश जाने भन्दै पद नछाड्न निर्देशन दिनुभएपछि उहाँ रोकिनुभएको हो', दाहालले भने। वरीयता विवादका कारण आइतवार निर्धारित मन्त्रिपरिषद् बैठक बस्न सकेन । उपप्रधानमन्त्रीबीचको वरीयता विवाद, नेपाल प्रहरीको आईजीपी नियुक्तिको विवाद र मधेसी मोर्चालाई मनाउन प्रस्तावित संविधान संशोधनको प्रस्तावमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् बैठक सोमवारका लागि सारिएको छ । मधेसी मोर्चाले स्थानीय तह निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाएपछि मात्र संशोधन प्रस्ताव संसद्मा लैजानुपर्ने सुझाव केही मन्त्रीले दिएका कारण पनि मन्त्रिपरिषद् बैठक एक दिन पर सारिएको प्रधानमन्त्री दाहाल निकट स्रोतले जानकारी दिएको छ ।
Powered by Blogger.
बरियता विवाद अझै उस्तैः निधि क्याबिनेट बैठकमै नजाने
प्रकाशित मिति:
April 10, 2017