निर्वाचनमा १ लाख ६३ हजार सुरक्षाकर्मी खटिने
काठमाडौ, असार १३ । स्थानीय तहको दोश्रो चरणअन्र्तगत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय बुधबार हुन गइरहेको निर्वाचनका लागि १ लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यस निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटाइनेछ ।
दोश्रो चरणअन्तर्गतको यो निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
प्रकाशित मिति:
June 27, 2017