सेन्टर, युनियन र प्रगतिशिल प्यानलको औपचारिक घोषणा, अध्यक्षमा आचार्य
काठमाडौं ३२ साउन
![]() |
अध्यक्षका उम्मेदवार आचार्य |
नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदका लागि गोविन्द आचार्यको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल व्यवसायिक प्यानलको घोषणा भएको छ ।
प्रेस सेन्टर, प्रेस युनियन, प्रगतिशिल पत्रकार संघको संयुक्तमा प्यानलको बुधबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
उक्त प्यानलमा प्रेस सेन्टरका उपाध्यक्ष समेत रहेका अध्यक्ष आचार्यका साथै बरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल, समावेशी उपाध्यक्षमा युनियनका दिलिप थापा मगर, महासचिवमा युनियनका रमेश विष्टले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा पनि युनियनका राजेश विष्टले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, सचिवहरुमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, सितल महतो, उदय जिएमको उम्मेदवारी घोषणा भएको छ । दुई सचिव, लेखा संयोजक, तथा खुल्ला सदस्य लगायतको उम्मेदवारी घोषणा हुन बाँकी छ ।
अध्यक्षका उम्मेदवार आचार्यले उम्मेदवारी घोषणासभामा पत्रकारहरुको पेशागत सुरक्षा र व्यवसायिक विकास, श्रमजीवि ऐन कार्यान्वयन तथा पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
अध्यक्षका उम्मेदवार आचार्य पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन् । पत्रकार श्रमजीवि निर्धारण ऐनका प्रमुख समेत बनिसकेका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार समेत बनेका थिए । २०४८ सालदेखि पत्रकारिता पेशामा आवद्ध उनी जनदिशा दैनिकमा सम्पादकका रुपमा समेत आवद्ध रहेका थिए ।
प्रकाशित मिति:
August 16, 2017