अकासियो तरकारीको मूल्य, १३० प्रतिशतले बढ्यो
काठमाडाैं ३१ साउन
‘घिरौला कसरी हो साहू जी ?’ ‘केजीको १०० रुपियाँ हो, लैजाउनुहोस् बजारमा तरकारी नै छैन, बिहान ४:०० बजे गएर अलिअलि ल्याएको, ढिलो गएको भए रित्तै आउनुपर्ने रे’छ नि !’ सोमबार बिहान कीर्तिपुरका चोकका तरकारी व्यापारी रामेश्वर थापाले तरकारी किन्न आउने ग्राहकलाई मूल्यसँगसँगै सुनाउँदै गरेको गुनासो हो यो। देशका ठाउँठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैनन्, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन उनले भने ‘त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ।’ यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
एक दशकदेखि यहीँ ठाउँमा तरकारीको व्यापार गर्दै आएका थापाले कहिले कालिमाटी त कहिले बल्खुबाट बिहानै साइकलमा तरकारी ल्याएर बिक्री गर्दै आएका छन्। उनको पसलमा बिक्रीमा राखेका तरकारीमध्ये आलु प्रतिधार्नी १०० रपियाँ, गोलभेडा ठूलो प्रतिकेजी १०० रुपियाँ, घिउसिमी प्रतिकेजी १२० रुपियाँ, बन्दा प्रतिकेजी ६०, घिरौला प्रतिकेजी १०० रुपियाँ, तिते करेला प्रतिकेजी ६० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, पाकेको फर्सी प्रतिकेजी ७० रुपियाँ, मूला प्रतिकेजी ४० रुपियाँ, स्कुस ६५ रुपियाँ, काँक्रो प्रतिकेजी ९० रुपियाँ मूल्य तोकेका छन्।
अन्य खुद्रा व्यापारीकोमा भन्दा केही सस्तोमा पाइने हुँदा वरिपरिका सर्वसाधारण उपभोक्ता यही पसलमा आउने गर्छन्। अघिल्ला वर्षहरूमा अन्य समयको तुलनामा केही महँगो भए पनि अहिले जस्तो तरकारी नै नपाइने अवस्था भने नभएको अनुभव थापाको छ। लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकासिएको व्यापारी बताउँछन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा अरू बेलामा यस बजारमा दैनिक झण्डै ८५० टनको हारहारिमा तरकारी भित्रिने गरेकोमा शनिबारदेखि दैनिक २५० देखि ३०० टनको हाराहारिमा मात्रै तरकारी भित्रिएको छ। उपत्यकावासीको मागको झण्डै ७० प्रतिशत कम मात्रै तरकारी आयात हुनु र आएको तरकारी पनि पानीले बिग्रेका कारण भाउ आकासिएको समितिले जनाएको छ। समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई साताको बीचमा तरकारीको भाउ १४० प्रतिशतसम्म महँगिएको छ। वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुगेका कलङ्कीका विजय अधिकारीले मंहँगो मूल्य तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गरे।
यता कालीमाटी तरकारी बजारका थोक व्यापारी हरि कार्कीले बजारमा तरकारी नआएर आफ्नो कारोबार नै ठप्प गर्नुपर्ने अवस्था आएको गुनासो गरे। उनले भने ‘तरकारी लिएर आउँदै गरेका गाडी नै सडकमा बाढी र पहिरोले अवरूद्ध भएका कारण बीच बाटोमै अड्किएका छन्, बल्ल बल्ल अवरोध पार गरेर आइपुगेको तरकारी खोसाखोस हुन्छ, त्यो पनि गतिलो कहाँ छ र ! आधा त कुहिएर फ्याल्नुपर्छ, दुई दिनदेखि कारोबारै छैन। ’
कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले देशैभरि लगातारको वर्षापछि आएको बाढी र पहिरोले सडकमा क्षति पुगेपछि काठमाडौँमा तरकारी आपूर्ति घटेर भाउ आकासिएको बताए। तरकारी आपूर्ति कम भए पनि उपत्यका आसपासका जिल्लामा बाढीले खासै प्रभाव नपरेकोले कारोबार ठप्प हुने अवस्था भने नरहेको उनको भनाइ छ।
समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आउँछ। यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले यसको अभाव नहुने श्रेष्ठको दाबी छ। उहाँका अनुसार यो मौसममा आलु र प्याजमा भने भारतकै भर पर्नुपर्नेकाले धेरै लामो समयसम्म आयात नभए समस्याहुन्छ तर केही दिनलाई धान्ने गरी यी वस्तुको स्टक रहेकोले समस्या नहुने भन्दै श्रेष्ठले आलु र प्याज काठमाडौँवासीलाई एक साताभन्दा बढी धान्ने स्टक रहेको जानकारी गराए ।
प्रकाशित मिति:
August 15, 2017