आलोचना गरिएको आर्टिकल डिलिट गर्न लगाउने तिर्थ कोइराला व्यवसायिक कसरी ?
भोलि र पर्सी अर्थात ४ र ५ भदौमा नेपाल पत्रकार महासंघको महाधिवेशन हुँदैछ । महाविधेशनमा नयाँ नेतृत्वका लागि मुख्य गरेर गोविन्द आचार्य र तिर्थ कोइराला प्यानलको भिडन्त हुने देखिसकेको छ ।
आचार्य प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशिल पत्रकार संघका साझा उम्मेदवार हुन भने कोइराला एमाले निकट चौतारी र नयाँ शक्ति निकट प्रेस सोसाइटीका साझा उम्मेदवार हुन् । तर कोइरालालाई स्वतन्त्र उम्मेदवार भनेर समेत प्रचार गरिएको छ भने उनलाई व्यवसायिक र राम्रा उम्मेदवार भनेर समेत प्रचार भईरहेको छ । कोइराला निरन्तर मिडियामा काम गरेका व्यक्ति भएको आधारलाई व्यवसायिक भनिएको छ । तर, व्यवसायिकताको परिधिभित्र नियम कानुनको पालना गर्नु पनि अर्को मुख्य आधार हो ।
अनलाइन मिडियामा कुनै पोष्ट लेखिसकेपछि त्यसलाई हटाउनु नियम विपरित मानिन्छ । तर, व्यवसायिकहरु भन्नेबाट नै आफ्नो आलोचनामा आएको कन्टेन्ट हटाउने काम भएको छ ।
अनलाइन मिडियामा कुनै पोष्ट लेखिसकेपछि त्यसलाई हटाउनु नियम विपरित मानिन्छ । तर, व्यवसायिकहरु भन्नेबाट नै आफ्नो आलोचनामा आएको कन्टेन्ट हटाउने काम भएको छ ।
व्यवसायिक भनिएका तिर्थ कोइरालाको आलोचनामा लेखिएको एउटा लेख दबाब दिएर रातारात हटाउने काम भएको हाे । पत्रकार कुसुम भट्टराईले लेखेको आर्टिकल घटना र विचार अनलाइनमा राखिए पनि त्यसले अनलाइनमा धेरै समय टिक्न पाएन ।
व्यवसायिक पत्रकार भन्ने तर आफ्नो आलोचनामा लेखिएको लेख दबाब दिएर वेवसाइटबाट हटाउन लगाउने क्रियाकलाप कसरी व्यवसायिक भयो भनेर अहिले पत्रकारिता जगतमा ठुलै चर्चा छ । विपक्षीहरुले भने युनियन र सेन्टर मिल्दा नै कोइरालाको भन्दा ३ सय मत बढीले अग्रता लिएको, विप्लव निकटको पत्रकारले पनि चौतारीलाई साथ नदिँदा हार्ने स्थिति भएको बेला आफ्नो विपक्षमा आएको यस्ता लेख रचनाका कारण झनै ठूलो अन्तरले हार्ने देखेपछि अत्तालिएर आलोचना गरिएका कन्टेन्ट हटाउन लागेको आरोप लगाउन थालेका छन् ।
घटना र विचार जयप्रकाश त्रिपाठी र बविता बस्नेत लगायतले सञ्चालन गर्ने मिडिया हो । बताइए अनुसार ठूलो दबाब दिएर उक्त आर्टिकल बेवसाइटबाट हटाउन लगाइएको छ । बस्नेतसँग यस विषयमा बुझ्ने प्रयास उनको मोबाइल अफ भएका कारण सफल हुन सकेन ।
घटना र विचार जयप्रकाश त्रिपाठी र बविता बस्नेत लगायतले सञ्चालन गर्ने मिडिया हो । बताइए अनुसार ठूलो दबाब दिएर उक्त आर्टिकल बेवसाइटबाट हटाउन लगाइएको छ । बस्नेतसँग यस विषयमा बुझ्ने प्रयास उनको मोबाइल अफ भएका कारण सफल हुन सकेन ।
जुट बेवसाइटबाट हटाइएको आर्टिकल हामीले गुगलको बेवक्याच मार्फत यहाँ राखिएको छ ।
कुसुम भट्टराई
नेपाल पत्रकार महासंघको सभापतिमा प्रेस चौतारीले तीर्थ कोइराला तथा नेपाल प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदबारका रुपमा गोविन्द आचार्यले उम्मेदवारी दिनुभएको छ । उता, पत्रकार उजीर मगर पनि सभापतिमा भिडन तम्सिँदै हुनुहुन्छ । समीकरण हेर्दा मुलतः गोविन्दजी र तीर्थजीबीच भिडन्त हुने पक्का छ ।
सामाजिक संजाल, कोठे बैठक, चिया पसल र रेस्टुराँहरूमा दुबै प्यानलले आ–आफ्नो पक्षमा लविङ गरिरहेका छन् । पत्रकारहरूलाई त चुनाव लागेको छ नै, विभिन्न दलका नेताहरू पनि कसलाई जिताउने र कसलाई हराउने भनेर पार्टी प्यालेसदेखि बारहरूसम्म सक्रिय देखिन्छन् । संसदीय चुनावमाझैं पत्रकारहरूको चुनावमा पनि अनेक तिकडम भइरहेको छ, यो बाढीको मौसममा पैसासँगै मदिराकोे समेत भेल बग्न थलिसकेको छ ।
हामीजस्ता श्रमजिवी पत्रकारले कसलाई जिताउने ? यो गम्भीर प्रश्न हो ।
मञ्जुरत्न शाक्यलाई ‘मण्डले’ भन्दै पेशागत हकहितका लागि लड्न गोविन्द वियोगीहरूको नेतृत्वमा बहुदलवादी पत्रकारहरू महासंघमा हाबी भए । तर, अन्ततः यसमा राजनीतिक दलसमर्थित पत्रकारहरूकै हालीमुहाली भयो र त्यो अहिलेसम्म कायमै छ । राजनीतिरहित क्षेत्र त समाजमा कुन होला र ? कपाल काट्ने हजामदेखि कुचीकारसम्म, जग्गा दलालदेखि क्यासीनो कर्मचारीसम्म राजनीतिक संगठनहरू खुलेको बेला पत्रकारजस्तो राज्यको चौथो अङ्गलाई राजनीतिक दलहरूले अछुतो छोड्ने कुरा आएन । अतः पत्रकार महासंघमा दलीय टिकट र दलीय गठबन्धनकै आधारमा नेतृत्व चयन हुनु स्वाभाविक हो । अब यो ठिक हो कि हैन भन्नेबारे अलग्गै लेखमा चर्चा गरौँला । यसमा चाहिँ तीर्थ कोइरालाजीले आफु राजनीतिक गठबन्धनरहित शुद्ध पेशागत हकहितका लागि खडा भएको उम्मेदवार हुँ भनी दाबी गर्नुभएको सन्दर्भमा चर्चा गर्न चाहन्छु ।
पहिलो कुरा तीर्थजी आफै राजनीतिक उम्मेदवार हुनुुहुन्छ । उहाँ एमालेको कोटाबाट सभापति हुनुभएको स्पष्ट छ । यसका बारेमा पर्दा पछाडि भएका केही चलखेलको चर्चा गरिहालुँ । तीर्थ कोइरालाजी व्यापारी अजय सुमार्गीले लगानी गरेको थाहाखबर मिडियामा कार्यरत हुनुहुन्छ । सुमार्गीजी कुनैबेला हेटौँडामा रुपचन्द बिष्टसँगै साँस्कृतिक कार्यक्रमहरूमा मादल बजाउँदै हिँड्नुहुन्थ्यो । मैले एकपटक ०४६ सालतिर रुपचन्द बिष्टसँगै कालीमाटीमा उहाँलाई देख्दा उहाँ टुप्पी पनि पाल्नुहुन्थ्यो जस्तो लाग्छ । शान्तिप्रकृया सुरु भइसकेपछि सुमार्गीजी रातारात धनी हुनुभयो । ठिकै छ, धनी हुनु सबैको चाहनाको कुरा हो, तर स्वयं मकवानपुरका उहाँका सहकर्मीहरू पनि उहाँले रातारात कमाएको धन देखेर विष्मयको जिब्रो टोक्छन् ।
तीर्थजीलाई महासंघको सभापतिमा उम्मेदवार बनाउनुमा व्यापारी अजय सुमार्गीको पनि विशेष भूमिका रहेको गाइगुईं थाहाखबरतीर चल्न थालेको छ । कान्तिपुर मिडिया ग्रुपलाई ‘तह लगाउन सक्ने’ उम्मेदवारका रुपमा कान्तिपुरमै काम गरिसकेका तीर्थलाई सुमार्गीजीले अघिसारेको चर्चा पनि पत्रकार वृत्तमा चलीरहेको छ । खास कुरा के हो ? यसबारे ‘थाहा चाहियो’ भन्दैछन्, पत्रकार ।
तीर्थलाई महासंघको सभापतिका रुपमा समर्थन गर्नुपर्ने भन्दै सुमार्गी सुरुमा माओवादी नेता पम्फा भुषालकहाँ पुग्नुभएको रहेछ । पम्फा भुषालजीले ‘श्रमजिवी पत्रकारका पक्षमा काम गरेका धेरै योग्य उम्मेदवारहरू अरु पनि हुनुहुन्छ तीर्थजीलाई समर्थन गर्न सकिन्नँ’ भन्ने जवाफ दिएपछि सुमार्गीजीले माओवादी केन्द्रका अर्का नेता अग्नी सापकोटाजीलाई भेट्नुभएछ । अग्नी सापकोटाजीबाट पनि सकारात्मक जवाफ नआएपछि माओवादी अध्यक्ष प्रचण्डलाई नै भेटेर समर्थनको याचना गरिएको रहेछ । प्रचण्डबाट पनि समर्थन नपाएपछि बल्ल तीर्थ कोइरालाजी एमालेको शरणमा पुग्नुभएको एमाले निकट सुत्र बताउँछ । हुन त एमालेको शरणमा जानुअघि तीर्थजीले कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पनि भेट्नुभएको हो । तर, माओवादी र कांग्रेसको कोटाबाट टिकट पाउन नसकेपछि उहाँले सुमार्गीमार्फत एमाले नेताहरूकहाँ धाएको ‘खबर’ ‘थाहा’ भएको छ ।
योगेश भट्टराईलाई भेट्नुअघि तीर्थले प्रेस चौतारीका नेता गणेश बस्नेतलाई भेटी चौतारीका तर्फबाट आफुलाई सभापतिमा खडा गराउन पहल गर्न आग्रह गर्नुभएको थियो । पत्रकार बस्नेतजीले भन्नुभएछ ‘तपाईले प्रेस चौतारीको सदस्यता नवीकरण गर्नुभएको छैन । तपाईलाई किन सभापति बनाउने ? हामीकहाँ चौतारीकै पुर्व अध्यक्षहरू त्यसका हकदार छन् ।’
चौतारीका सदस्यहरूबाट पनि सकारात्मक जवाफ नपाएपछि तीर्थजीले एमाले नेता योगेश भट्टराईजीलाई भेटनुभयो । नयाँ बानेश्वरस्थित श्रीमुक्ति टावरको आठौं तलामा साउना र स्टीम बाथ गरिसकेपछि एमाले नेता योगेश भट्टराईजीसँग तीर्थजीले भन्नुभएछ, ‘तपाई र म जिल्लाबासी साथी । मैले जित्नु भनेको तपाईंले जितेसरह हो । मलाई जिताउने तारतम्य मिलाउनुप¥यो ।’
योगेशजीले पनि जिल्लाबासीलाई महासंघमा जिताउन भन्दै तीर्थजीलाई सल्लाह दिनुभएछ, ‘हाम्रो पार्टी अध्यक्ष केपी ओलीलाई भेटनुस् ।’
अध्यक्ष ओलीसँग भेटेपछि तीर्थजीको पक्षमा निर्णय भएछ । पार्टी हाइकमाण्डबाट प्रेस चौतारीका साथीहरूलाई पनि तीर्थकै पक्षमा खडा हुन निर्देशन गएछ । अनि चौतारीका साथीहरू पनि मनले नमानी–नमानी तीर्थजीलाई सभापतिको उम्मेदवार बनाउन बाध्य हुनुभएछ ।
भएको यो हो । यसरी अहिले राजनीतिक गठनबन्ध हैन, पेशागत हकहितका लागि उम्मेदवारी दिएको भनेर बताए पनि तीर्थजीले राजनीतिक गठबन्धनको साझा उम्मेदवार बन्न नसकेपछि सुमार्गीको भिटो प्रयोग गरी एमालेको उम्मेदवार बनेको स्पष्ट देखिन्छ ।
प्रेस सेन्टर र प्रेस यु्नियनका साझा उम्मेदबार गोविन्द आचार्यजीको कुरा बेग्लै छ । उहाँ आफै श्रमजिवी पत्रकार भएको र लामो समयदेखि श्रमजिवी पत्रकारहरूको हकहितका पक्षमा सँघर्ष गर्दै आएको व्यक्ति हुनुहुन्छ । करिब अढाई दशक पत्रकारितामा सक्रिय रहने क्रममा गोविन्दजीले अर्को कुनै व्यवसाय गर्नुभएन । अग्रज पत्रकारहरू गोविन्द बियोगीको ‘मातृभूमि’बाट पत्रकारिता थाल्नुभएका गोविन्दजीले मदनमणि दीक्षितको ‘समीक्षा साप्ताहिक’मा पनि काम गर्नुभयो । महासंघका लागि अग्रजहरूले गरेको योगदानको उहाँमा सुरुदेखि नै प्रभाव परेको देखिन्छ । सोही कारण उहाँले पत्रकारहरूको हक हितका लागि समर्पित हुन कुनै कसर बाँकी राख्नुभएन ।
‘जनादेश’ र ‘कृष्णसेन अनलाईन’मा कार्यरत रहनुभएका गोविन्दजी शान्ति प्रक्रिया सुरु भएपछि ‘जनदिशा दैनिक’मा सम्पादक हुनुहुन्थ्यो । म त्यो पत्रिकामा कपी एडिटर थिएँ । त्योबेला उहाँ ‘पत्रिकामा जनताका कुरा धेरै आओस्’ भन्नुहुन्थ्यो । उहाँ अहिले पनि जनपक्षीय पत्रकारिता र नयाँ सञ्चारको विकासमा कटिबद्ध हुनुहुन्छ । मलाई स्पष्ट सम्झना छ, जनदिशामा कार्यरत रहँदा ‘नेपाल वान टेलिभिजन’मा राजकुमार रेग्मी, मात्रिका पौडेल, मुकुन्द दाहाललगायतका दर्जनौँ साथीहरू सँघर्षरत हुनुहुन्थ्यो । आन्दोलनलाई निकास दिई पत्रकारहरूको पारीश्रमीक एकमुष्ट दिलाउनु जरुरी थियो ।
त्यस्तोमा गोविन्द आचार्यजीकै नेतृत्वमा अलग्गै संघर्ष समिति बन्यो । संघर्ष समितिले दबाबमुलक आन्दोलन ग¥यो । अन्ततः नेपाल वानका सञ्चालक र पत्रकारहरूबीच सहमति भयो र सञ्चालकहरू पत्रकारलाई एकमुष्ट तलब दिन बाध्य भए । हामी सबैलाई थाहै छ, कान्तिपुर, राजधानी, सगरमाथा टेलिभिजन, उज्यालो नेटवर्क आदिमा पत्रकारहरूले संघर्ष गर्दा पत्रकारको हकहितका पक्षमा गोविन्दजीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
पार्टीगत आस्थाको कुरा गर्दा निश्चय नै उहाँ माओवादीनिकट हुनुहुन्छ । तर, माओवादीको कुनै पनि निकायमा उहाँ सक्रिय हुनुभएन । क्रान्तिकारी पत्रकार संघको केन्द्रिय समितिमा हुनुभएकाले माओवादीको हेटौँडा महाधिवेशनका बेला उहाँलाई महाधिवेशन आयोजक समितिमा स्वतः सदस्य बनाइयो । तर, उहाँले पार्टीलाई धन्यवाद दिँदै र ‘पार्टीप्रति आस्था र विश्वास कायम रहनेछ’ भन्दै त्यो समितिबाट राजीनामा दिनुभएको समाचार त्यसबेलाका पत्र–पत्रिकामा छापिएकै हुन् ।
नेपाल पत्रकार महासंघमा उहाँको आवद्धता पुरानै हो । उहाँ यसअघि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कोषाध्यक्ष तथा महासंघको केन्द्रिय उपाध्यक्ष भइसक्नुभएको छ । उपाध्यक्षपछि भइसकेको व्यक्तिले अब हुने भनेको अध्यक्ष नै हो । यस हिसाबले सभापतिमा उहाँको उम्मेदवारी स्वाभाविक र न्यायोचित देखिन्छ । गोविन्दजी, नयाँ सञ्चारको विकास गर्न सक्ने, पत्रकारहरूका पीरमर्का बुझ्नसक्ने, परेमा डटेर संघर्ष गर्नसक्ने र मोफसलका पत्रकारहरूको दुःख बुझ्ने योग्य उम्मेदवार हुनुहुन्छ ।
तीर्थ कोइरालाजीको भूमिकाका सम्बन्धमा चाहिँ कैयन सञ्चारकर्मीले गुनासो गरेको पनि सुनिन्छ । पत्रकारहरूको हकहितका पक्षमा डटेर लड्ने भन्दा पनि सम्झौतावादी ‘गुण’ उहाँमा देखिन्छ । खासगरी सञ्चालक र प्रकाशकलाई रिझाउन सके मिडियामा टिक्न सकिन्छ भन्ने व्यवहार उहाँको रहँदै आएको उदाहरण प्रस्तु गर्नुपर्दा, उहाँ प्रधानसम्पादक रहेको ‘थाहा खबर’का रिपोर्टरले नियुक्ति पत्र पाउँ भन्दा अहिलेसम्म पाउन सकेका छैनन् । पत्रकारको हितमा खासै बोल्न नसक्ने तीर्थजीले साना मिडियालाई लोक कल्याणकारी विज्ञापन दिनुहुन्न भन्नेसोच राख्दै आउनुभएको पङ्क्तिकारको ठहर छ । कहाँसम्म भने उहाँले यदाकदा ‘श्रमजिवी पत्रकार ऐन लागू गर्नु हुँदैन, पत्रकारको क्षमता भयो भने एक लाख रुपैयाँ पनि कमाउँछन्’ भनेर चिया गफहरूमा भनेको यिनै कानले धेरैपटक सुनेकै हो ।
अन्त्यमा, देशभरका पत्रकार साथीहरू, बायस नभईकन सोचौँ, यसपटक श्रमजिवी पत्रकारनिकट पत्रकारलाई सभापति बनाएर हेरौँ !
(लेखकको निजी धारणा)
प्रकाशित मिति:
August 19, 2017