यो स्थानीय तहमा भएको जस्तो तालमेल हैन : प्रचण्ड
चितवन, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताए ।
उनले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताए । वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनले बताए ।
पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताए ।
नेपाली काँग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले काँग्रेससँगको सहकार्य नतोडिएको बताए । काँग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उनले भने, “देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको छ । यो प्रक्रियाको शुरुवात हामीले गरेका छौं ।”
संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उनले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताए । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उनको भनाइ थियो ।
चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने “यो चितवनका जनताले फैसला गर्ने कुरा हो ।” उजले अगाडि थपेयो “यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।”
प्रकाशित मिति:
October 30, 2017