देशको हितका लागि यसपाली भोट कसलार्इ ?
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मुखैमा आइसक्यो । विभिन्न पार्टी, उम्मेदवार र तिनका समर्थकहरु सामा, दाम, जुक्ति बुद्धि सबै प्रयोग गरेर आ-आफ्नो पक्षमा मत पार्न लागि परिरहेका छन्।
यतिखेर भोटका आकांक्षीहरु जनतामाथि आश्वासन, सपना र प्रतिबद्धताका चाङ लगाइरहेका छन्। चुनाव जितेमा आफूले बाडेमा सपना, दिएका आश्वासन र प्रतिबद्धताहरु पूरा गर्न सकिन्छ वा सकिन्न, सकिन्छ भनेर कसरी सकिन्छ ती कुरामा तिनको दृष्टि छैन् । जसरी हुन्छ चुनाव जित्नु छ उनीहरुलाई
भोटका लागि मात्रै आएका आश्वासन र सपनाहरु बारे अधिकांश मतदाता जानकार छन् र त्यसमा कमैले मात्रै विश्वास गर्छन्। यतिखेर थुप्रै मतदाताले कस्लाई भोट दिने निक्र्यौल गरिसके होलान धेरै अझै अन्यौल मै होलान तराई मधेशका केही जिल्लामा मधेशी दलहरु पनि मुख्य प्रतिस्पर्धी भएपनि समग्र देशभरि कांग्रेस र वाम गठबन्धनकै प्रतिस्पर्धा देखिन्छ। धेरै मतदातालाई अहिले ती दुई मध्ये कुनलाई रोज्ने भन्नेमा द्वुविधा भइरहेको छ । व्यक्ति विषेश र तिनका प्रवृत्तिको मूल्यांकन गर्ने हो दुवैमा अति राम्रा र नराम्रा व्यक्तिहरु छन्। ती एक दुई व्यक्तिले हार्नु र जित्नुले राष्ट्रिय राजनीतिमा खासै अर्थ राख्दैन्। कुन पार्टीले जित्छ भन्ने मुख्य कुरा हुन्छ।
यसकारण यसपालीको भोट कम्युनिष्ट घटक र कांग्रेस मध्ये कसलाई दिँदा ठीक होला भन्ने कुराको द्वुविधा हुनेलाई यी कुरा अबगत गराउँन चाहान्छु ।
२०४६ सालपछि दुई पटक(२०४८ र २०५६) बहुमत ल्याएको कांग्रेसले पार्टी भित्रैका नेताको तानातानले स्थिर सरकार बनाउँन सकेन, अहिलेपनि देउवा र रामचन्द्र पौडेलको तानातान हुने पक्का छ । सरकारको नेतृत्व गर्ने अवसर आएमा देउवाले नछोड्ने र धेरै पटक प्रधानमन्त्रीका लागि खुट्टो उचालेरपछि हट्नु परेका रामचन्द्र पौडेले पनि त्यो अवसर कुनै हालतमा छोड्ने वाला छैनन् । कांग्रेसका अन्य थुप्रै नेता पनि प्रधानमन्त्री मै हो चुनाव जितेपछि भन्दै भोट मागिरहेका छन् सिंगो ५ वर्ष नेता र गुटका तानातानीले देश अस्थिरताको भूमरीबाट आक्रान्त बन्ने सम्भावना ज्यादा छ ।
नीजिकरण र उदारीकरणका नाममा देशका स्रोत साधान र सम्पत्तिमाथि सीमित पैसावालहरुको हालीमुहालीलाई कांग्रेसले प्रशय दिइरहेको छ, त्यो यथावतनै रहने देखिन्छ । जसले गर्दा २०४६ सालपछि देखिएको सीमित व्यक्ति धनी हुँदै जाने र राज्य कांगाल बन्दै जाने प्रवृत्ति झन मौलाउँनेछ । करछली, कलोबजारी, तस्करी मजदुरमाथिको चरम शोषण कांग्रेस सरकारको छत्रछायाँमा सुरक्षित हुने पक्का छ, हुनत कम्युनिष्ट नामधारीका सरकार आएपनि त्यसलाई रोक्न कुनै भूमिका खेलेको देखिदैन तर ५ वर्ष कम्युनिष्टको सरकार भएमा दिन दुई गुणा रात चौ गुणाका दरले आम्दानी गर्ने आफ्ना स्रोत सुक्ला भनेर ती मान्छेहरु सशंकित भएका देखिन्छन् । देशका नाम चलेका धनवानहरु खुलेर कांग्रेसको पक्षमा लाग्नुको पछाडि यही कुराले काम गरेको छ।
नेपालमा भारतीय हस्तक्षेपलाई आमन्त्रण गर्ने काम २००७ सालदेखि कांग्रेसले नै गरेको हो। अब कांग्रेसको हातमा सत्ता गएको खण्डमा नेपालमा बढ्दै गएको चिनियाँ प्रभावबाट असन्तुष्ट भारतले कांग्रेसको बुई चढी चिनियाँ उपस्थितिलाई निस्तेज पार्ने र आफ्नो प्रभाव बढाउन सक्दो प्रयास गर्नेछ ।
संविधान निर्माणको बेलादेखि नेपालको राजनीतिमाथिको प्रत्यक्ष हस्तक्षेपबाट पछि हट्न बाध्य भइरहेको भारतले नेपालमा ५ वर्ष केपी आली र प्रचण्डको अगुवाइमा जुनसुकै सरकार बनेपनि नेपालमा चीन हावी हुने निश्चित देखेको छ । तसर्थ उसले नेपालमा आफ्नो एकछत्र प्रभाव कायम राख्न नेपाली कांग्रेसको सहायता लिने र कम्युनिष्टको एकताबाट अताल्लिएको कांग्रेसले भरतीय हस्तक्षेपलाई स्वीकार गर्ने कुरा सहजै अनुमान लगाउँन सकिन्छ ।
नेपाल र चीन दुवैको स्वार्थ गाँसिएका चीनले अगाडि बढाएका योजनाहरु सजिलै अगाडी बढ्न दिने पक्षमा भारत नहरेको देखिन्छ। नेपाली कांग्रेसलाई नेपालमा चीनको प्रभाव वढ्यो भने कम्युनिष्टहरु हावी हुने डर देखाएर भारतले आफ्नो अभिष्ट पूरा गर्ने सम्भावना ज्यादा छ।
अधिकांश स्थानमा स्थानीय तहको निर्वाचनको मतको आँकडाका आधारमा वाम गठबन्धन भन्दापछि परेको कांग्रेसले चुनाव जित्ने मुख्य अस्त्र पैसा बनाएको छ। पार्टीको योगदानभन्दा पनि पैसा खर्च गर्नसक्ने आधारलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गरेको कांग्रेसले सत्ताको दुरुपयोग गर्दै निर्वाचनको मुखमा राज्यको ढुकुटीबाट कार्यकर्तालाई करोडौं रुपैयाँ बाँडिरहेको छ ।
अहिले कांग्रेसका उम्मेदवारले जुन पैसाको रवाफ देखाइरहेका छन् अधिकांश उम्मेदवारले त्यो कुनै न कुनै रुपमा राज्यको दोहन गरी कमाएको पैसा नै हो। तिनले चुनाव जितेमा त्यसको साँवा व्याजसहित राज्यकोषबाट अनेक माध्याम प्रयोग गर्दै असुल्ने पक्का छ । त्यसैले कांग्रेसले चुनाव जितेमा भ्रष्टचार, राज्य कोषमाथिको ब्रह्मलुट यथावतनै रहने पक्का छ ।
कांग्रेसका हरेक नेताले अहिले वाम गठबन्धनबाट लोकतन्त्रमाथि खतारा छ भन्दै भोट मागिरहेका छन् । यसको वास्तविक अर्थ यो होकी वाम गठबन्धनले बहुमत ल्याएर ५ वर्ष सरकार चलायो भने सत्ताको वरिपरि बसेर कांग्रेसले मच्चाउँदै आएकोे लुटतन्त्रमाथि खतरा देखियो । राज्य र शक्तिको दुरुपयोग गरी पैसा र शक्तिको बलमा कार्यकर्ता टिकाइरहेको कांग्रेसलाई ५ वर्ष सत्ताको डाडुपन्यू चलाउँन नपाउँदा कार्यकर्ता टिकाउन मुस्किल पर्ने देखिन्छ ।
कुनै राजनीतिक गतिविधि नगरी, जनताको तल्लो स्तरसम्म कुनै संगठन नबनाइकन सत्ता र पैसाको बलमा राजनीति धानीरहेको कांग्रेसलाई खतरा देखिएको हो वास्तवमा लोकतन्त्रमा खतरा देखिएको हैन । शासन व्यवस्था कस्तो हुने भन्ने कुरा संविधानमै स्पष्ट छ । जसले चुनाव जिते पनि त्यही संविधान अनुसार चल्ने हो ।
दुई पटक बहुमत आउँदा अनि सबैभन्दा धेरै सत्तामा बस्दापनि कहिल्यै आशा लाग्दो काम गर्न नसकेको कांग्रेसले अब चुनाव जितेर केही गर्ला र देशको काँचुली फेरिएला भन्नु बालुवा निचोरेर तेल निकाल्छु भन्नु जस्तै हो
सबै न्यायप्रेमी मतदाताहरुमा आग्रह यो छकी हामीले यस पटक वाम गठबन्धलाई भारी मतले जिताउँ ५ वर्ष छाडी दिउँ । अहिले उम्मेदवार चयनमा दुवै पार्टीका थुप्रै आकांक्षीले देखाएको त्यागले केही आशा जगाएको छ। यसले उनीहरुले व्यक्तिगत स्वार्थ भन्दामाथि उठी स्थिर सरकार चलाउन सक्छन् भन्ने आशा देखाएको छ । स्थिर सरकार नेपालको पहिलो आश्वयकता हो।
नेपालका लागि भारत र चीन दुवैको सहयोग लिनु र दुवैसँग समान सम्बन्ध राख्नु अत्यावश्यक छ । पुराना सन्धी–सम्झौता, खुल्ला सिमाना, धर्म सँस्कृति लगायतका कारणले भारतसँगको सम्बन्धलाई त नेपालका कुनै सरकार र दलले पनि वेवास्ता गर्न सक्ने अवस्था छैन । मुख्य कुरा चीनको सहयोग नेपालका लागि महत्वपूर्ण छ ।
भारत सधैं नेपालमा आफ्नो मात्रै प्रभाव रहोस भन्ने चाहान्छ । उसको त्यो अभिष्टलाई पन्छाइ चीनसँग हातेमालो गर्ने काम केपी ओली प्रचण्डबाट सम्भव देखिन्छ। किनभने प्रचण्ड पहिलेदेखि नै चीनसँग निकट मानिन्छ भने भारतीय नाकाबन्दीपछि केपी ओलीले पनि चीनसँग निकटता बढाएका छन्। चीनले अगाडि सारेको बेल्ट एण्ड रोडको योजना अघि बढाउँन, नेपाललाई रेलमार्गसँग जोड्ने, तेलको पाइपलाइन विछ्याउँनेलगायत, तिब्बत लुम्बीनी रेलमार्गको महत्वकांक्षी योजना अघिबढ्नेमा कुरामा आशावादी हुन् सकिन्छ। वर्षौदेखिको भारतमाथिको एकोहोरो परनिर्भरताबाट मुक्ति मिल्ने मार्ग खुल्छ भन्ने आशा गर्न सकिन्छ ।
यी विभिन्न कारणले कुनै व्यक्तिगत लाभ र स्वार्थलाई नहेर्ने हो भने देशका लागि अहिले कांग्रेसभन्दा वाम गठबन्धनलाई जिताउँनु नै अपरिहार्य देखिन्छ। ५ वर्ष उनीहरुलाई हेर्न जरुरी छ । त्यसपछि पनि केही गर्न सकेनन् भने नेपालका लागि यी दुवै पार्टी निकम्मा ठहरिने छन्। यी दुवै दलले बहुमत पाए केही गथ्र्यौ भनेर जनतालाई भन्ने आधार समाप्त हुनेछ, अनि नेपाल हाक्नका लागि नयाँ विकल्पको खोजी गर्नु हाम्रा लागि अनिवार्य हुनेछ।
यस पटकलाई वाम गठबन्धन जिन्दावाद
-संघर्ष गौतम
प्रकाशित मिति:
November 23, 2017