गणेशमानलाई कालो मोसो दल्ने व्यक्ति नै कांग्रेसको उम्मेदवार, पम्फा भुसालसँगको प्रतिस्पर्धामा कमजोर
काठमाडौं । गत साता सुरक्षा निकायलाई निर्देशन दिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको किचेन क्याविनेटको बैठक बस्यो । बैठकमा नेपाली सेनाका पूर्व जर्नेल डम्बरबहादुर मल्लले कुन निर्वाचन क्षेत्रमा कसको अवस्था के छ ? भन्ने विषयमा विवरण पढेर सुनाउँदै थिए देउवाबीचमै जुरुक्क उफ्रिए । पूर्वबाट सुनाउँदै सुनाउँदै जब ललितपुरको सकिएको थियो, देउवा उफ्री हाले । ललितपुरको प्रतिबेदनमा भनिएको थियो–‘क्षेत्र नं १ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतले पछाडि छन् तर दुई मा भने निकै पछाडि छन् ।’ यो सुनेपछि देउवाले आक्रोसित हुँदै क्षेत्र नं १ मा नवराज सिलवाल उठेको छ होइन ? भनेर प्रश्न गरे । उनले भने बरु कांग्रेसले सबै सिटमा चुनाव हारोस् पर्वाह छैन् तर ललितपुरमा उदयशमशेरले हार्ने र सिलवालले जित्ने कुरा हुनै सक्दैन, जे गर्नुपर्ने हो तपाईंहरु गर्नोस् ।’
बाँकी प्रतिवेदन सुन्ने धैर्यता नै नराखी देउवाले ललितपुरलाई केन्द्रित गर्नुका मुख्य कारण पूर्व डीआईजीपी सिलवाल नै थिए । पहिलो मर्यादा क्रममा रहेका डीआईजी सिलवाललाई वाइपास गरी देउवाले चौथो मर्यादा क्रममा जयवहादुर चन्दलाई आईजीपी बनाएका थिए । यसपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अलालतले चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय खारेज गरेको थियो । जसका कारण देउवाको सक्रियतामा प्रधान न्यायधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइएको थियो । यो काण्डले मुलुकको समग्र राजनीतिसँगै नेपाली कांग्रेसभित्र पनि ठूलै तरङ्ग उत्पन्न गराएको थियो । यसैबीच एमालेले सिलवाललाई भावी गृहमन्त्री बनाउने भन्दै ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार बनायो ।
बामगठवन्धनले बहुमत ल्याउने स्पष्ट अवस्था देखिइसकेको छ । अब एमालेले सिलवाललाई गृहमन्त्री बनायो भने आफू जिउँदै मरे बराबर हुने ठम्याइमा देउवा पुगेका छन् । यो ठम्याइपछि देउवाले भएभरको तागत सिलवाललाई हराउनका लागि प्रयोग गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । त्यति गर्दा पनि सिलवालले हार्ने अवस्था नरहेको र अरु हत्कण्डा प्रयोग गर्नुपर्ने कुरा उदय शमशेरबाट सुनेपछि देउवाले थप रणनीति बनाएका छन् । त्यो रणनीति हो– ‘ललितपुर २ र ३ को पार्टीका भएभरको सामथ्र्य १ मा प्रयोग गर्ने ।’ देउवा किचन क्याविनेटको यो नयाँ तयारीपछि कांग्रेस उम्मेदवार मदनबहादुर अमात्यको निदहराम भएको छ । यसबारे पुष्टि गर्न अमात्य स्वयं प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । समाचारस्रोतका अनुसार देउवाले भने– ‘मदनजी सिलवाललाई जसरी पनि चुनाव नहराइ नहुने भएकाले क्षेत्र नं १ र २ को संयन्त्र पनि १ मै प्रयोग गर्नुपर्ने भयो, तपाईंलाई राष्ट्रिय सभामा लैजाने चाँजोपाँजो मिलाउँला, नआत्तिनोस् ।’
पुरानैलाई मौका दिएकोमा आक्रोस
त्यसो त पटकपटक पुरानै अनुहारलाई मौका दिइएकोमा ललितपुरका पुराना नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् । पटकपटक मौका टिकट पाएका तीन जनामध्ये राणा पुख्र्यौली विरासत बोकेका युवा नेता हुन् । २०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषदलाई भरत शमशेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए । उदय शमशेर भरत शमशेरका भतिजा (उत्तराधिकारी) हुन् । उनलाई ललितपुर क्षेत्र नं १ मा मौका दिनुलाई अस्वाभाविक रुपमा लिइएको छैन । ज्यापु समुदायको ६० प्रतिशत बाहुल्यता रहेको बामपन्थी गढ भएका कारण स्थानीय नेता चन्द्र महर्जनलाई दुईमा पटकपटक मौका दिनुलाई पनि ललितपुरका कांग्रेसजनहरुले आपत्ति मानेका छैनन् । तर, हेटौँडाका मदन अमात्यलाई पटकपटक ललितपुरमा मौका दिइएकोमा चाहिं कोही पनि काँग्रेसजन खुशी छैनन् ।
ओमकारलाई बाइपास किन ?
पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गर्ने क्रममा १६ वर्ष जेलजीवन विताएका ओमकारप्रसाद श्रेष्ठजस्ता मुर्धन्य नेतालाई बाइपास गरी हेटौंडाका मदन अमात्यलाई स्थापित गर्ने काम विघटित राजदवारका मुख्य सचिव पशुपतिभक्त महर्जनले गरेका हुन् । यसका लागि महर्जनले कृष्णप्रसाद भट्टराईको निवासमा अमिता कपाली फिट गरेका थिए । अमिता कपालीमार्फत् मदन अमात्यलाई भट्टराई कहाँ पु¥याइएको हो । नियमित रुपमा दुध, फलफुल, सागसव्जी ओसारेकै भरमा अमात्य स्थापित भएका हुन् । उनी नेवि संघको स्थापनाका बेला सक्रिय भए पनि पन्चायत प्रवेश गरेपछि अमात्य खुङ्खार मण्डले बनेका थिए । पन्चायतकालमा हेटौंडा क्षेत्रमा उनी कमल थापा भन्दा पनि चर्का मण्डले थिए । २०३६ सालको जनमत संग्रहका बेला बहुदलको प्रचार गर्न गणेशमान सिंह हेटौंडा पुग्दा कालोमोसो दल्ने मण्डलेको झुण्डमा अमात्य पनि सामेल थिए ।
अमात्यलाई दरवारले कृष्णप्रसाद भट्टराई कहाँ घुसपैठ गराएपछि काँग्रेसले नराम्रो क्षति बेहोर्नुपरेको ललितपुरका एक पुराना नेताले बताए । उनले भने– ‘किशुनजी जस्तो स्वच्छ छविको लोकतन्त्रबादी नेता जीवनको अन्तिम घडीमा गणतन्त्रविरुद्ध उत्रनुमा अमात्यकै हात छ । जुनबेला किशुनजीले होस् गुमाइसक्नु भएको थियो, त्यतिबेला अमात्यले गणतन्त्रको विरुद्ध बक्तव्य तयार गरी किशुनजीलाई हस्ताक्षर गर्न लगाए, जसका कारण किशुनजी जस्तो नेता कलंकित भएर मर्नु प¥यो ।
अमात्यको विगतको पृष्ठभूमिमात्र होइन उनले सांसद् बनेर पार्टी र जिल्लाको छविलाई उचो बनाउने कुनै काम नगरेकोमा पनि निकै आक्रोसित छन् । सांसद् हुँदा जिल्लाको बारेमा कुनै कुरा नउठाएको मात्र होइन विकास केही नगरेकोमा पनि कांग्रेसी मतदाताहरु निकै असन्तुस्ट छन् । पैसाको बलमा नै कांग्रेसका निस्ठावान नेताहरुलाई पछाडि धकेलेर मदन अमात्यले बारम्बार टिकट लिनु र पैसाकै बलमा निर्वाचन जित्ने अपेक्षा गरेकोमा सभापति देउवाको रणनीति र उनको विगत र वर्तमानका कारण स्वाभिमानी, निस्ठावान कांग्रेसका कारण अत्तालिएका छन् ।
समानुपातिकका कारण विवाद चर्कियो
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीमा समानुपातिकतर्फ पार्टी सभापति देउवा र संसदीय वोर्डका सदस्यहरूले आ–आफ्ना श्रीमती र प्रेमिका तथा धुपौरे महिलाको नाम समावेश गरेको भन्दै द्वन्द्व चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गर्लफ्रेण्ड भनेर कांग्रेसमा चर्चा गरिने तेह्रथुमकी सीता गुरूङ र मकवानपुरकी महालक्ष्मी उपाध्याय डिनालाई देउवाको ठाडो आदेशमा पार्टी केन्द्रीय कार्यसमितिको निर्णय उल्टाउँदै पुन समानुपातिकमा नाम राखिएको छ । यी दुवै महिला यस्ता भाग्यमानी हुन् जो २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा दुई पटक देउवाबाट समानुपातिक सांसदको बक्सिस पाए । उपाध्याय पार्टीको महाधिवेसनमा केन्द्रीय सदस्यमा पराजित भए पनि मनोनित हुन पाउने भाग्यमानी हुन् । उपाध्याय श्रीमानबाट अलग भएकी महिला हुन् भने सीताले दुई वर्षअघि मात्र पोखराका एक युवकसँग विवाह गरेकी छिन् । सीता समानुपातिक सांसद भए पनि हाल भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री बन्न पाउने भाग्यमानी हुन् ।
बारा स्थायी घर भएकी मधु शाही ठकुरी यसअघि समानुपातिक सांसद थिइन् । उनलाई संसदीय वोर्डका सदस्य फरमुल्लाह मन्सुरको प्रेमिका भएको आरोप लाग्ने गरेको छ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालकी श्रीमती पुष्पा भुषाल संसदीय वोर्डका सदस्य खुमबहादुर खड्कासँग अन्तरंग सम्बन्ध भएकी कानून व्यवसायी हुन् । समानुपातिकमा २०७० मै सांसद भएकी शीला खड्का पुनः समानुपातिकमा सिफारिस भएकी छन् । उनी कांग्रेस नेता खुमबहादुर खड्काकी पत्नी हुन् । संसदीय वोर्डका अर्का सदस्य बालकृष्ण खाँडले श्रीमती मञ्जु खाँडको नाम समानुपातिकमा राखेका छन् । कान्तिपुरलाई देउवा गुटको पक्षमा प्रयोग गराइदिने शर्तमा उद्योगपति विनोद चौधरी समानुपातिक उमेदवार बनेका हुन् । मधेसीको सूचिमा चौधरीको नाम पहिलो नम्बरमा छ । समयबद्धबाट
प्रकाशित मिति:
November 30, 2017